Kakhara सबैको खबर सम्पूर्ण खबर
यस्तो छ रुकुम पश्चिममा चाडपर्व लक्षित सुरक्षा व्यवस्था 

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर रुकुम पश्चिममा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । चाडपर्व लक्षित सुरक्षा योजना निर्माण गरेर लागु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । समग्र सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा सुरक्षित सवारी आवागमनलाई मध्यनजर गर्दै जिल्लामा सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजी आवास, व्यापारिक स्थल, बैंक वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने स्थानहरूमा आम नागरिकहरूको चहलपहल, व्यापारिक तथा आर्थिक क्रियाकलापमा वृद्धि भएको सन्दर्भमा झै-झगडा, चोरी, लुटपाट, जुवातास, सवारी दुर्घटना लगायतका आपराधिक घटनालाई लक्षित गर्दै सुरक्षा योजना बनाइएको उहाँले बताउनुभयो । 

चाडपर्वका बेला आपराधिक घटनाहरू घटाउन सक्ने जोखिम रहेकोले सम्भावित आपराधिक घटनाहरूलाई रोक्न, शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना–२०८३ बनाइएको र सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको डिएसपी पौडेलले बताउनुभयो ।  

चाडपर्वलाई लक्षित गरेर डिएसपीको कमान्डमा २५ जनाको कमान्ड पोस्ट रहनेछ। त्यस्तै जिल्लाका विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष समेत स्थापना गरिएको डिएसपी पौडेलले बताउनुभयो । 

दिवा तथा रात्रिकालिन यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै झुल्नेटा, सोलाबाङ, चौरजहारी, सिम्ली, आठबिसकोटको राडी बजार, गोतामकोट बजार, साँख, सितलपोखरी बजार, बागबजार र मठमा गरी १० स्थानमा असोज २४ गतेबाट यात्रु सहायता कक्ष स्थापना गरी सेवा सुचारू गरिएको उहाँले बताउनुभयो ।

यसैबिच सुरक्षा जोखिमलाई मध्यनजर गर्दै चाडपर्व अवधिभर ८ वटा गाडी मोबाइल, १२ वटा मोटरसाइकल गस्ती, २५ वटा पैदल गस्ती, १४ ठाउँमा ग्रामीण गस्ती, ३ वटा स्ट्राकिङ, ८ स्थानमा मापसे चेकिङ, ८ स्थानमा संयुक्त चेकिङ, ८ स्थानमा आकस्मिक चेकिङ गरी ३७२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको उहाँले जानकारी गराउनुभयो ।

यस अवधिमा जिल्ला प्रहरी कार्यालय प्रमुखबाट मातहत प्रहरी युनिटहरूको समय समयमा अनुगमन गर्ने व्यवस्था गरिएको छ भने जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय आठबिसकोट र चौरजहारीमा १५/१५ जनाको प्रहरी टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी गराउनुभयो । 

यसैबिच जिल्ला भित्र रहेका सरकारी, गैरसरकारी कार्यालय, महत्त्वपूर्ण प्रतिष्ठान, बैंक वित्तीय संस्था लगायत सम्पूर्ण कार्यालयहरूको सुरक्षाको निम्ति २४ सै घण्टा सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी बढाइएको समेत सूचना अधिकारी परियारले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update