कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले कर्णाली प्रदेश सरकार इतिहासमै पहिलो पटक समावेशी बनेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले जिल्ला सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले महिला सहभागीताका हिसाबले प्रदेश सरकार पहिलो पटक सबै भन्दा समावेशी बनेको दाबी गर्नुभयो ।
‘मन्त्री परिषद्मा ५० प्रतिशत महिलाको सहभागिता छ, मन्त्रालयमा महिला कर्मचारीको समेत उत्तिकै उपस्थिति छ, कर्णाली प्रदेश सरकारले समावेशीताका हिसाबले पहिलो पटक राम्रो प्रगति गरेको छ,’ उहाँले भन्नुभयो । समावेशी सरकारले विकास पनि समावेशी रूपमा अघि बढाइरहेको उहाँले बताउनुभयो । त्यस्तै उहाँले प्रदेश सरकार कानुन कार्यान्वयन तथा योजनाको प्रभावकारी कार्यान्वयनमा गम्भीर रूपमा लागेको जानकारी गराउनुभयो ।
यसअघि नीति निर्माण हुने, योजना बन्ने, बजेट विनियोजन हुने तथा प्रभावकारी कार्यान्वयन नहुने समस्यालाई यस पटक दोहोरिन नदिने गरी प्रदेश सरकार लागि परेको उहाँको भनाई छ । यसका लागि सबै जिल्लामा रहेका प्रदेश मातहतका कार्यालय र प्रशासकहरूलाई समेत जिम्मेवार बनाइएको उहाँले बताउनुभयो । यसका लागि आफू मन्त्री भएपछि कर्णालीका ६ जिल्लामा पुगिसकेको समेत उहाँले बताउनुभयो ।
साथै उहाँले कानुन निर्माण गर्दा भुईँ मान्छेहरूलाई समेटिएको छ कि छैन, आवश्यकता अनुसारको कानुन निर्माण भएको छ कि छैन, प्रभावकारी योजना निर्माण भएका छन् कि छैनन्, ती योजनाको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भनेर निरन्तर खबरदारी गर्न उहाँले जिल्लास्थित पत्रकारहरूलाई आग्रह समेत गर्नुभयो । यसैबिच मन्त्री खड्काले कर्णाली प्रदेश सरकारले सुशासन र पारदर्शितामा विशेष ध्यान केन्द्रित गरेको बताउनुभयो ।
महिलाले अवसर पाएमा इमानदारी पूर्वक जिम्मेवारी सम्हाल्छन् भन्ने विभिन्न अवसरले पुष्टि गरेको भन्दै उहाँले कर्णाली पनि त्यो कुरालाई पुष्टि गर्ने गरी आफूहरू लागेको उहाँको भनाई छ । त्यस्तै उहाँले कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पनि सरकार गम्भीर रहेको बताउनुभयो । रुकुम पश्चिमको स्यार्पू ताल, मौराखारा सहित प्रदेशभरका प्रमुख पर्यटकीय स्थलको प्रवर्द्धन गरी यहाँको जीवनस्तर उकास्ने तर्फ सरकारले ध्यान दिएको उहाँले बताउनुभयो ।




