कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्काले प्रदेश सरकार रुग्ण योजनामा गम्भीर बनेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले रुग्ण योजनाको कार्यान्वयनका लागि सरकारले विशेष ध्यान दिएको बताउनुभएको हो ।
उहाँले हाल १८ वटा रुग्ण योजनाहरू रहेको भन्दै त्यसमा १८ वटा योजना निर्माण व्यवसायीका कारण अलपत्र परेको बताउनुभयो । ठेकेदारकै कारण योजनाहरू रुग्ण बनिरहेको अवस्थामा अब प्रदेश सरकारले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको उहाँको भनाई छ । सुरुमा कामै सुरु नभएका योजनाहरूको ठेक्का तोड्ने पक्रिया अघि बढेको भन्दै उहाँले ५० प्रतिशत भन्दा बढी काम भई अलपत्र परेका योजनालाई सम्पन्न गर्न ठेकेदारहरूलाई ताकेता गरिएको उहाँको भनाई छ ।
सरकारले योजना कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको र यसै अन्तर्गत रुग्ण योजनाहरूमा विशेष ध्यान दिइएको उहाँको भनाई छ । समयमै काम गर्ने ठेकेदार कम्पनीलाई प्रोत्साहन गर्ने र काम नगर्ने ठेकेदारहरूलाई कडाइ गरिएको उहाँले बताउनुभयो । यसका लागि जिल्ला स्तरबाटै योजनाको प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिइएको उहाँको भनाई छ ।
यसका लागि आफू जिल्ला दौडाहामा रहेको समेत उहाँले जानकारी गराउनुभयो । साथै उहाँले नयाँ सरकार बनेपछि पुरा योजना कार्यान्वयनमा ध्यान केन्द्रित गरेको बताउनुभयो । नीति, कार्यक्रम र बजेट आइसकेको अवस्थामा नयाँ सरकार बनेकोले यसअघि नै बनेका योजना कार्यान्वयनमा ध्यान केन्द्रित गरिएको र आवश्यकताका आधारमा केही नयाँ योजना बनाउने काममा समेत सरकार केन्द्रित भएको उहाँले बताउनुभयो ।
रुकुम पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयको ट्रायल सेन्टर सञ्चालनका लागि समेत प्रदेश सरकारले ध्यान दिएको उहाँले बताउनुभयो । जग्गा विवाद लगायतका कारण ट्रायल सेन्टर सञ्चालनमा ढिलाइ भइरहेको भन्दै प्रदेश सरकार र आफूले यसमा ध्यान दिएको तथा मङ्सिर भित्र सञ्चालन गर्न निर्देशन दिइएको उहाँले जानकारी गराउनुभयो ।
त्यस्तै जिल्लामा रहेका मध्य पहाडी लोक मार्ग सहित अन्य सडकको स्तरोन्नतिका लागि समेत ध्यान दिइएको उहाँको भनाई छ । साथै प्रदेश सरकारले ग्रामीण सहित अन्य सडक सुचारु गर्नका लागि एकमुस्ट बजेट जिल्लामा पठाइसकेकोले उक्त बजेटको कार्यान्वयनमा निरन्तर खबरदारी गर्न उहाँले पत्रकारहरूलाई आग्रह पनि गर्नुभयो ।।





