Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका किसानले दुधमा प्रतिलिटर ५ रुपैंया अनुदान पाउने 
फाइल फाेटाे ।

पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले दुधमा अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार कार्यालयले दुधमा प्रतिलिटर ५ रुपैंया अनुदान दिन लागेको हो । 

कार्यालयले पहिलो पटक दुधमा अनुदान दिन लागेको हो । यसअघि प्रदेशबाट पालिकामा अनुदानका लागि बजेट आउने गरेकोमा पहिलो पटक जिल्ला भरका किसानका लागि कार्यालयमा बजेट आएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो । 

दुधमा अनुदानका लागि ४० लाख बजेट प्राप्त भएको उहाँले बताउनुभयो । आधिकारिक रुपमा दर्ता भएका दुध संकलन केन्द्र, उद्योग, सहकारी, डेरी लगायतका ठाउँमा दुध बिक्रि गरेको रेकर्ड अनुसार प्रति लिटर ५ रुपैंयाका दरले अनुदान दिइने कार्यालय प्रमुख शर्माले बताउनुभयो । 

अनुदानका लागि कार्यालयले निवेदन दिन जिल्ला स्थित सम्पूर्ण किसानहरुलाई अनुरोध गरेको छ । यसका लागि भाद्र २७ गतेसम्म वडाको सिफारिस, दुध बिक्रि गर्न चाहने सहकारी, संकलन केन्द्र, डेरी तथा चिलिङ सेन्टर, बैंक खाता, नागरिकताको प्रमाणपत्र लगायत कागजपत्र र १० रुपैंयाको हुलाक टिकट सहित निवेदन दिन सकिने कार्यालयले बताएको छ । 

यसअघि मुसीकोट नगरपालिका सहित केही स्थानीय तहले दुधमा प्रतिलिटर अनुदान दिएका थिए । आधा स्थानीय तह र आधा प्रदेश सरकारको लगानीमा दुधमा अनुदान दिइएको थियो । यो वर्ष भने पशु अस्पताल तथा पशु सेवा कार्यालयले नै जिल्ला भरमा अनुदान दिन लागेको हो । दुध उत्पादक किसानलाई प्रोत्साहन गरेर दुध उत्पादन बढाउन अनुदानको कार्यक्रम बनेको बताईएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update