दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रुकुम पश्चिमको महिला फुटबल छनोट सम्पन्न भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १३ को छिवाङ खेल मैदानमा भएको छनोटबाट जिल्ला फुटबल संघले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश छनोटमा भाग लिने जिल्लाको टिम निर्माण गरिएको छ ।
१८ सदस्यीय टोली छनोट गरिएको जिल्ला फुटबल संघले जानकारी गराएको छ । संघका अनुसार छनोट हुने खेलाडीमा सञ्जिता पुन मगर, प्रतीक्षा ओली, रितु बुढा, कोपिला ओली, भुपेन्द्रा ओली, बिमला गिरी, चेतना ओली, लक्ष्मी ददेल र दुर्गा केसी रहेकी छन् ।
त्यस्तै दिलमाया ददेल, सपना विक, आकृति पुन, बिमला खड्का, मेनुका चन्द, दिपा ओली, आयुषा विष्ट, सुशीला खड्का र कविता ओली पनि छनोटमा परेकी छन् । यो सँगै जिल्लाको पहिलो महिला फुटबल टिम निर्माण भएको छ । हालसम्म जिल्लाको महिला फुटबल टोली निर्माण हुन सकेको थिएन ।
यो टिमले पहिलो पटक १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश छनोटमा भाग लिने छ । यसैबिच पुरुष तर्फको छनोट भने जारी रहेको संघले जनाएको छ । २१ गतेसम्म छनोट जारी रहने र त्यसपछि पुरुष टोलीको घोषणा गरिने संघको भनाई छ ।
जिल्लामा जिल्ला स्तरीय छनोट भइरहेको छ । सम्बन्धित संघहरुले आ–आफ्ना विधाका खेलाडीहरू छनोट गरिरहेका छन् ।





