
रुकुम पूर्वको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड तकसेरामा सुरु भएको छ । आज महेन्द्र मावि तकसेरामा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीले शिल्डको उद्घाटन गर्नुभयो । एक कार्यक्रमको आयोजना गरी शिल्डको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्यहरु सुरुल पुन, दिलकुमारी बुढा, सरिता पुन, यमुना रोका तामाङ, जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहनबहादुर केसी लगायतको आतिथ्यता रहेको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नामेन्द्र सुनारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पुथाउत्तरगंगा गाउँपालिका गाउँकार्यपालिका प्रवक्ता टीकासाई घर्तीले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कमल चन्दले स्वागत मन्तव्य राख्नुभएको थियो । आजबाट सुरु भएको शिल्ड फागुन १६ गतेसम्म चल्ने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । शिल्डमा जिल्लाका तीन वटै पालिकाको सहभागिता रहेको छ । पालिका स्तरीय शिल्ड सकिएपछि जिल्ला स्तरीय शिल्ड आयोजना गरिएको हो ।
शिल्डमा तीन पालिकाका करिब डेढ सय विद्यार्थीहरुले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।