
नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमले जिल्ला अध्यक्षमा विमलकुमार पुनलाई सिफारिस गरेको छ । आज बसेको पार्टी कार्यालयको नवौं बैठकले पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज विमलकुमार पुनलाई जिल्ला अध्यक्षका लागि पार्टी केन्द्रीय कमिटीमा सिफारिस गरेको हो ।
जिल्लाले अध्यक्ष मनोनयन गर्न नमिल्ने भएकाले केन्द्रमा सिफारिस गरिएको पार्टीका जिल्ला सचिव सुरजकुमार परियारले बताउनुभयो । जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा एमालेमा फर्किएपछि आज बसेको कार्यालय बैठकले पुनलाई अध्यक्षमा सिफारिस गरेको छ भने एमाले प्रवेश गर्ने शर्मालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको उहाँले बताउनुभयो ।
पार्टी उपाध्यक्ष माधवप्रसाद गौतमको अध्यक्षतामा बसेको बैठकले कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी पनि उपाध्यक्ष गौतमलाई दिएको छ । त्यस्तै पार्टीको दुई महिने सुधृढीकरण अभियानको कार्यविभाजनमा हेरफेर समेत गरिएको छ ।
त्यस्तै पार्टी सचिव सुजरकुमार परियारकी आमा मनसरी दमाइको फागुन २८ गते भएको निधनमा दुःख व्यक्त गर्दै बैठकले मृतकप्रति श्रदाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेको छ ।