Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पनि विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइयो

रुकुम पश्चिममा पनि १६ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । गणतन्त्र दिवसको अवसरमा प्रभात फेरी, बजार क्षेत्र सरसफाई, दिप प्रज्वलन, बिरामीलाई फलफूल वितरण लगायतका विभिन्न कार्यक्रम गरिएकाे छ । मुसीकोट खलंगामा जिल्ला समन्वय समितिले आयोजना गरेको प्रभात फेरी कार्यक्रम बाल मन्दिरबाट सुरु भइ  तल्लो बजार, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन हुँदै पुनः बाल मन्दिर आएर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, उप प्रमुख देवबहादुर विक , मुसीकोट नगर प्रमुख महेन्द्र केसी, उप प्रमुख बिमलकुमार पुन, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त लगायत सरकारी तथा गैर सरकारी संस्थामा आवद्ध कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

त्यस्तै सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकाले पनि पालिकामा विभिन्न कार्यक्रमको आयोजना गरी १६ औं गणतन्त्र दिवस मनाएका छन । बाँकोफिट गाउँपालिकाले प्रभात फेरि कार्यक्रम गर्नुका साथै गाउँपालिका कार्यालय परिसर भित्र सरसफाई गरेको प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिवसको अवसरमा पालिकामा उत्कृष्ट काम गर्ने ४ जना कर्मचारीलाई सम्मान पनि गरिएको छ । त्यसैगरी सानीभेरी गाउँपालिकाले दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई सम्मान गरेको गाउँकार्यपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो । अन्य पालिकाले पनि गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाएका छन ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update