रुकुम पश्चिमको मुसिकोटमा सिद्ध गुफा गोल्ड कपको सातौँ संस्करण सुरु भएको छ । मुसिकोट १ सल्लेको सल्ले यूथ क्लबको आयोजनामा मुसिकोट १ खलङ्गाको बराहटाकुरा खेल मैदानमा बिहीबारबाट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा २४ वटा फुटबल समूहले सहभागिता जनाएका छन् । खेल नकआउट सिस्टममा सञ्चालन भइरहेको छ भने प्रतियोगिता सेभेन ए साइडको हो । आयोजकले एक टिममा जिल्ला बाहिरका २ जना मात्र खेलाडी राख्न पाइने नियम समेत बनाएको छ ।
विगत ७ वर्ष देखि चलिरहेको यस प्रतियोगिताको सातौँ संस्करणको पुरस्कार राशि उल्लेख्य वृद्धि गरिएको छ । यो प्रतियोगिता जिल्लाको सर्वाधिक पुरस्कार राशिको मध्येको एक रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
उपविजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउने छ । विजेतालाई ट्रफि, मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको छ । त्यस्तै व्यक्तिगत विभिन्न इभेन्टमा समेत खेलाडीलाई पुरस्कृत गरिने छ ।
खेलकुदको विकास, युवाको सहभागिता भन्ने नाराका साथ सल्ले यूथ क्लबले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गरिरहेको छ । यस प्रतियोगिताले जिल्लाको फुटबल प्रतियोगितामा नयाँ कीर्तिमान बनाउने र जिल्लाको फुटबल विकासमा अहम् टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।
जिल्लामा पर्याप्त भौतिक पूर्वाधार नभएको अवस्थामा पनि भएको पूर्वाधारको प्रयोगमा खेल सञ्चालन गर्नुपर्दा निकै चुनौतीको सामना खेप्नुपरिरहेको आयोजकले जनाएको छ । पर्याप्त संरचना नभए पनि भएका संरचनाको प्रयोगबाट फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यले सिद्ध गुफा गोल्ड कपको सुरुवात गरिएको आयोजकको भनाई छ ।
आयोजकले खेल अवधिभर खेल अवलोकन गरी गरीमा बढाउन आयोजकले खेलाडी तथा खेल प्रेमी महानुभावहरूलाई अनुरोध समेत गरेको छ ।





