Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकोटका सुरेन्द्रका दुवै मिर्गौला ‘फेल’, प्रत्यारोपणका लागि सहयोगको याचना 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १४ बाँके गुम्जा गाउँका सुरेन्द्र नेपालीका दुवै मिर्गौला फेल भएपछि परिवारजनले सहयोगको याचना गरेका छन् । चार छोरा-छोरी, श्रीमती र वृद्ध आमाको एक मात्र सहारा नै जीवन र मरणको दोसाँधमा पुगेपछि परिवारका सदस्यले सुरेन्द्रको जीवन रक्षाका लागि अपिल गरेका हुन् । ३२ वर्षीय सुरेन्द्रको हाल कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार चलिरहेको छ । 

यस अघि उहाँको काठमाडौँको वीर अस्पतालमा उपचार चलेको थियो । भोटेकोसी बाढीपछि एक महिना देखि उपचाररत सुरेन्द्रलाई वीरले सुर्खेत पठाएको हो । सुर्खेतमा पछिल्लो एक महिना देखि सुरेन्द्रको उपचार चलिरहेको उहाँका भिनाजु उदे कामीले जानकारी दिनुभयो । उहाँका अनुसार रोजगारीको लागि भारतको कारगिल गएका सुरेन्द्र उतै बिरामी पर्नुभएको थियो । सुरेन्द्रलाई सुरुमा प्रेसरले हानेको र अस्पताल लिएर चेक गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आएपछि उपचार थालिएको उहाँको भनाई छ । 

सुरुमा भारतमा केही दिन उपचार चलेको र त्यसपछि उपचारका लागि नेपाल आएको उहाँले बताउनुभयो । सुरेन्द्र विगत करिब साढे तीन महिना देखि बिरामीले थलिएको बताउँदै उहाँले सकेको सहयोग गरेर सुरेन्द्रको ज्यान जोगाइदिन देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा अनुरोध गर्नुभएको छ । सुरेन्द्रलाई उहाँकी श्रीमती पवित्रा कामी मिर्गौला दिन तयार हुनुहुन्छ भने परीक्षणबाट पनि श्रीमतीको मिर्गौला श्रीमानसँग मिलेको अस्पतालको भनाई उद्धृत गर्दै भिनाजु उदेले बताउनुभयो । 

तर मिर्गौला प्रत्यारोपणका लागि अस्पतालले २० देखि २५ लाख रुपैयाँ लाग्ने बताएपछि सुरेन्द्रको परिवार थप पीडामा परेको छ । हालसम्म डायलायसिस लगायतका उपचारमा करिब ४ लाख खर्च गरिसकेको परिवार अब भने थप उपचार खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ । हालसम्म आफन्तहरूबाट सरसापट तथा ऋण लिएर उपचार गरिरहेको भए पनि परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकोले अब भने थप आर्थिक व्यवस्थापन गर्न सकिने अवस्था नरहेको उदेले बताउनुभयो । 

अहिले सुरेन्द्रको उपचार तथा सुर्खेतमा बस्ने, खाने गरेर हप्तामा १५ हजारसम्म खर्च भइरहेको परिवारजनले बताएका छन् । त्यसमा पनि बुढी आमा, डेढ बर्सिया नाबालिग छोरी सहित ३ जना नाबालक छोरा र श्रीमतीको पालन पोषण गर्न समेत मुस्किल भएको छ । 

‘स्वास्थ्य राम्रो हुँदा त ज्याला मजदुरी गरेर जसोतसो परिवारको गर्जो टरिरहेको थियो, तर घरको मियो सुरेन्द्र नै बिरामीले थलिएपछि भने उनको परिवारमा बज्रपात नै परेको छ, यस्तो जटिल अवस्थामा तपाइहरूले सकेको सहयोग गरेर सुरेन्द्रको ज्यान जोगाइदिनुहुने छ पूर्ण विश्वास लिएको छु,’ भिनाजु उदेले भन्नुभयो । 

सहयोग गर्न चाहनेले ९७१६८१०२०५ सम्पर्क गर्न वा यस समाचारमै राखिएको QR मा पैसा राख्न सकिने उहाँले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update