-हाम्रो टोली कसैलाई पनि खबर नगरीकन म सानो प्वाल बाट भित्र पसिहाले त्यहाँ भएका कपडा बाहिर फालेर सकेको मात्रै थिए आयो...आयो... भन्दै सबै कराउन थाले म हतार गरेर निस्किन खोजे निस्किने ठाउँ साँघुरो थियो बाटोमा तिखा काठ र ढुङ्गाहरू थिए, हतारमा निस्किदा त्यतै मलाई चोट लाग्यो ।
कार्तिक १७ गते राति मस्त निन्द्रामा निदाइरहेको रहेछु एक्कासि हल्लायो, मेरो छिमेकीहरू होहल्ला गर्दै बाहिर निस्किए बजार भरी कोलाहल मच्चियो,बाहिर निस्किएकाहरू केही फेरि भित्र गएर सुते भने केही बाहिरै बसे म भने ओछ्यानबाट टाढा गइन । लगत्तै बुढीको फोन आयो, छोरीलाई मैले फोन गरे केही साथीहरू सङ्ग समेत आफू सकुशल रहेको खबर आदानप्रदान गरियो । केही समय पछि सामाजिक सञ्जाल तातिन थाल्यो, आठबिसकोट तिर स्थिति भयावह छ भन्ने खालको खबर आए । त्यसै दिन उद्धारमा जान भनेर म पनि तयार भए तर केही साथीहरूलाई सम्पर्क गर्दा गर्दै अलिक ढिलो भयो । भाेलीपल्ट बाइकमा बिहानै यात्रा गर्न अत्यधिक चिसो पनि हुने भएकोले गाडीमै ८/१० जना साथीहरू आठबीसकाेट तिर होमियौ । बाटोमा कतै सुख्खा पहिरो खसेको थियो त कतै रुखहरू र बिजुलीका पोलहरू ढलेका थिए, सडक चिराचिरा परेको थियो, गरायला, बलिबाङ तिर केही घर ढलेका थिए भने केही घरहरू बस्न नमिल्ने गरी फाटेका थिए, मान्छेहरू सबै खुला आकाशमुनि आगो तापेर बसेका थिए । जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम पनि हामी सँगसँगै अर्को सरकारी गाडीमा सवार हुनुहुन्थ्यो । ७/८ बजेतिर मानवीय क्षति धेरै भएको बस्ती आठबिसकोट १४, छेपारे पुगियो एकै घरका ५ वटा लास लस्करै राखिएको थियो । गाउँलेहरू चिच्याइरहेका थिए । अर्को घरमा त्यस्तै थियो । जताततै भाव विह्वल थिए सबै ।
त्यस वडाको अध्यक्ष हुकुम पुन त्यही हुनुहुन्थ्यो उहाँका अनुसार त्यो ठाउँमा उद्धार गर्नुपर्ने लास तथा घाइतेहरू नभएको जानकारी भएपछि हाम्रो टोली अगाडी बढ्यो । बाटोमा प्रहरीका गाडी र एम्बुलेन्स तथा लास र घाइतेहरू बोकेका प्रशस्त गाडी आवतजावत गरिरहेका थिए,जाँदै गर्दा नगरप्रमुख रबि केही लगायत अन्य जिम्मेवार व्यक्तिहरू सङ्ग सम्पर्क गर्दा मानवीय उद्धारको काम करिब सकिएको भनेपछि हामी सिधै नगर अस्पताल गयौँ।अस्पतालमा लासहरू केन्द्रित हुँदै थिए,मृतकका आफन्तहरू रोइरहेका थिए,बिरामीहरू बेडमै छटपटाइरहेका थिए अस्पताल बाहिर हजारौँको भिड भाव विह्वल थियो, बजार शोकमग्न थियो। अवस्था हेरि डाक्टरको सल्लाहबमोजिम केही घाइतेहरू जिल्ला अस्पताल सल्ले केही हेलिकप्टर बाट नेपालगन्ज त केही काठमाडौँ लगिँदै पनि थियो। बिहानको १० नबज्दै मुख्यमन्त्री राजकुमार शर्मा हेलिकप्टर मार्फत पुग्नुभयो भने उहाँ आएको हेलिमा पनि थप २ जना घाइतेहरूलाई नेपालगन्ज पठाइयो, मुख्यमन्त्री शर्माले त्यहाँ रहेका सबै घाइतेको एक/एक गरी अवस्था बुझ्नुभयो र मृतकका आफन्तहरूलाई सान्त्वना दिँदै आफूहरू उद्धार तथा राहतमा कुनै कसर बाकी नराख्ने गरी लागिपरेको र सङ्घीय सरकारलाई पनि त्यस मुताबिक नै आग्रह गरेको बताउनुभयो । जिल्ला स्थिति विभिन्न पार्टीका कार्यकर्ताहरू,सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरू,पत्रकार तथा सञ्चारकर्मीहरू लगायत हजारौँको सङ्ख्यामा अस्पताल वरिपरि उपस्थिति देखिन्थ्यो ।
केही समयपछि जाजरकोट, चौरजहारी, सिम्ली र जिल्ला अस्पताल सल्ले बाट पुगी घाइते तथा मृतकका आफन्तहरूलाई भेट गरेर प्रधानमन्त्री प्रचण्ड आठबिसकोटमा ओर्लनु भयो। उहाँसँगै प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्मा पनि हुनुन्थ्यो । अस्पताल पुग्नासाथ घाइतेहरूलाई प्रत्यक्ष भेटेर स्वास्थ्य लाभको कामना गर्नुभयो भने मृतकका आफन्तहरूलाई पनि सान्त्वना दिनुभयो। घाइतेहरुको निःशुल्क उपचार गरिने र उपचारमा कुनै प्रकारको कमी आउन नदिन तथा उद्धार र राहतका कार्यमा पनि कमी हुन नदिने गरी सबै संयन्त्रहरूलाई निर्देशन गरिएको तथा भोलिपल्टै अर्थात् १८ गते नै मन्त्रीपरिषद् बैठक बसेर भूकम्प प्रभावितहरूको पक्षमा थप निर्णय लिइने आश्वासन सहित प्रधानमन्त्री केही थप घाइतेहरूलाई आफू सँगै लिएर सुर्खेत फर्किनुभयो । हामी पनि प्रभावित क्षेत्रमा तत्काल लाग्ने गरी कार्य विभाजन गरेर त्यहाँबाट फर्कियौ, फर्किदा साँझ परिसकेको थियो भेरीको किनारै किनार लासहरू जलिरहेका थिए, गाउँलेहरू दाउरा बोकेर घाटतिर ओर्लदै थिए ।
अर्को दिन अर्थात् १८ गते उद्धारको निमित्त हाम्रो टोली सानिभेरी १ को रझेना बस्तीमा पुगियो त्यहाँ पनि घाटमा २ वटा लास संयुक्त रूपमा जलिरहेका थिए,केही समय दाहसंस्कार मै सरिक भइयो । गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्ट र त्यस १ नम्बर वडाको अध्यक्ष टेक बहादुर पुन सङ्गको सल्लाहमा हामी रझेनाबाट नै उद्धारको काम सुरु गर्ने सल्लाह भयो।मध्यपछाडि पुष्पलाल लोक मार्गको छेवैमा बाटो भन्दा मुनि ५/७ वटा घरहरू ढलेका थिए,पहिलो हामी उद्धारमा आएको थाहा पाएपछि मेरो घरमा सबै सामान पुरिएको छ आर्मी आएर पनि पछि गरौँला भन्दै गइहाल्यो भन्दै स्थानीय सार्की दमाई छेउमै निन्याउरो अनुहार लिएर आउनुभयो, उनको आधा घर ढलेको थियो भने अर्कोतिरको केही भाग मात्रै बाकी थियो,नढलेकोतिर बाट म माथिल्लो तलामा भित्र पसिहाले र अरू साथीहरू तल बाट सहयोग गर्नुभयो घर अत्यन्तै जोखिम अवस्थामा थियो तर पनि हामीले त्यहाँ पुरिएर रहेका लत्ताकपडा देखि सबै सामान सकुशल निकालेर अर्को घर तिर लागियो । त्यो दिनभर कल्पना पुन,पदमकली नेपाली,काली दमाइ लगायत १५ घरमा पुरिएर रहेका सर- सामान तथा अन्नपात सुरक्षित स्थानमा सारियो हामी एउटा घरमा काम गरिरहँदा अर्को घरका मान्छे मेरो घरमा पनि सामान निकाल्न आउनुस् भन्दै निमन्त्रणा गर्न आइहाल्थे, सकेजति धेरै सेवा गर्ने कोसिस गरियो । गाउँलेहरू हाम्रो सहयोग बाट निकै खुसी व्यक्त गर्दै धन्यवाद दिइरहेका थिए भने कतै खाजा र नास्ता पनि सोधिरहेका थिए तर हामीले पानी बाहेक कसैको घरमा केही खान मानेनौ । फर्किँदै गर्दा सोही वडाकै चाइनाबगर टोलमा पुगियो जहाँ एकै घरका ४ जनाको निधन समेत भएको रहेछ । क्रियापुत्री बस्न खुला आकाशमुनि पाल हाल्ने कुरा गर्दै थिए,हामी पनि त्यसैमा सरिक भइयो, केहिले गाउँभरिका त्रिपाल जम्मा गरियो भने केहिले बास काटियो अनि १५ घर लाई सामूहिक रूपमा बस्न मिल्ने गरी सडक छेउमै अस्थायी प्रकारको पाल हालेर फर्कियौ । त्यति बेलासम्म कतैबाट पनि राहत तथा अन्य कुनै पनि सामान पीडितकहाँ पुगेको थिएन ।
तेस्रो दिन सानिभेरी ४ तिर लागियो सोही वडाको पुरानागाउँ टोलमा जाँदा सडक छेवैमा २५/२६ बर्सिया पवित्रा बिक निराश मुद्रामा हुनुहुन्थ्यो केही सहयोग गर्नु छ भन्दै हामीले सोधपुछ गर्दा पाल श्रीमान् देश बाहिर हुनुहुन्छ छोरा सानो छ पाल हाल्न सकेन सहयोग गर्नुस् भन्नुभयो हामीले घरमुनि बिरिमै पाल हालियो । त्यहाँ काम गर्दै गर्दा छिमेकी एक जना महिला अलि पारीबाट कराउनु भयो,काखमा बच्चा च्यापेको अन्दाजी ५०/५२ बर्सिया मनसरी चदारा बाबु मेरो घरमा पनि पाल हाल्दिनुस् भन्नुभयो उहाँको घरमा पुग्दै गर्दा अर्को छिमेकी विमला चदारा पनि आइपुग्नुभयो आफू घरमा एक्लै रहेकोले आफूलाई पनि मनसरी सङै बस्न मिल्नेगरि पाल हाल्दिन आग्रह गर्नुभयो हामीले दुवै घरका लागि पाल हालियो । काम सकेर फोटो खिचौँ आमा भनियो फोटो खिच्दै गर्दा आँसु झार्दै मनसरीले विरह पोख्नुभयो मकै दुई थैलो मात्रै भएको हुन बाबु खाने केही पनि छैन,आज बिहान तेल नहालेरै साग पकाए भन्दै भक्कानिनु भयो हामी सङ्ग पनि दिने केही थिएन जतिसक्दो छिटो राहत पुर्याउन स्थानीय सरकार सङ्ग कुरा गरिदिने बाचा सहित हामी अर्को घरतर्फ लागियो । अर्को टोलमा पुग्दा पनि सबै घरहरू ढलेका थिए, ४५ वर्षीय तिलक बिक आफ्नो श्रीमती सहित केही सामान भत्केको घरमा खोजिरहनुभएको थियो,हाम्रो टोलीले पनि सघाउन थालियो त्यहाँ पनि सेनाले नसकेर गयो सर तपाईँहरू सक्नुहुन्छ भने कोसिस गर्दिनुस् भन्नुभयो ।
घर पूर्ण रूपमा भत्किएको थियो भित्र छिर्ने सानो प्वाल थियो त्यही बाट म भित्र पसिहाले अनि अरू साथीहरू पनि केही भिर केही बाहिर गरेर काम सुरु गरियो कपडा,मकै देखि लिएर सुनको तिलहरी समेत सकुशल निकाल्न सफल भइयो,बस्नको लागि त्यहाँ पनि पाल हालियो । त्यस टोलमा झकवीर बिक लगायत अरू धेरैको घरबाट सामान उद्धार गरेर अलि पर गोपाल दमाइको घर तिर लागियो जहाँ छोरा र छोरी सङै गुमाएका गोलाल क्रिया बस्नुभएको रहेछ लस्करै सबै घरहरू गर्ल्यामगुर्लम ढलेका थिए, हाम्रो टिममा अन्य साथीहरू माथि सडकमै थिए म तल झरे मेरो पछिपछि नारायण के सी पनि जानुभयो छोराछोरी को क्रियामा बसेका देखि अन्य गाउँलेहरू बाहिर पाल हालेर बसेका थिए,एउटा घर एकातिरको भाग थोरै ठाडाे थियो ढलेको भागतिर थोरै कम्मल को छेउ देखिएको थियो मान्छेहरू बाहिर बस्नुभएको छ ती कपडा कसैले निकालेनन् भनेर मैले प्रश्न गरे ! आर्मीले भित्र जान आट गरेनन् हामी झन् गएकै छैनौ भन्ने जवाफ आयो हाम्रो टोली कसैलाई पनि खबर नगरीकन म सानो प्वाल बाट भित्र पसिहाले त्यहाँ भएका कपडा बाहिर फालेर सकेको मात्रै थिए आयो...आयो... भन्दै सबै कराउन थाले म हतार गरेर निस्किन खोजे निस्किने ठाउँ साँघुरो थियो बाटोमा तिखा काठ र ढुङ्गाहरू थिए, हतारमा निस्किदा त्यतै मलाई चोट लाग्यो । ५.८ को अर्को पराकम्प गएको रहेछ। खुट्टा बाट रगत बग्न थाल्यो बल्ल मात्रै मेरो साथीहरूले पनि म भित्र गएको थाहा पाए हामीलाई सेवा गर्दा आफैलाई चोट लाग्यो भन्दै घरका मान्छे पनि चिन्ता व्यक्त गरे परिवारलाई सहानुभूति दिएर हामी फर्कियौ । खलङ्गा पुगेर मैले उपचार सुरु गरे खुट्टामा ३ वटा टाँका लगाइयो भने अन्यत्र पनि घाउ सफा गरेर औषधी गरियो ।
त्यतिबेला सम्म सबैतिरबाट मेरो स्वास्थ्य लाभको लागि फोन तथा एसएमएस आइरहेको थिए । चौथो दिन आठबिसकोट १४ घेत्मा जाने निधो भयो जहाँ एकै वडामा २८ जनाको ज्यान गएको छ । स्थानीय गोविन्द खड्काको सम्पर्कमा त्यहाँ पुगियो, बाँके टोलका विभिन्न घरमा पुरिएर रहेका लत्ताकपडा तथा अन्य सामान निकालियो सेनाले नसकेको नसकेको काम तपाईँहरुले गरिदिनुभयो भन्दै स्थानीय हामीप्रति निकै खुसी थिए, २० दिनको बालक बितेको घरमा गएर उद्धारमा सरिक भइयो भने बस्नको लागि पाल पनि हालियो दर्जन बढी घरपरिवारलाई पाल हालेर तथा सामान निकालेर फर्किँदै गर्दा एक जना आमाले बाटो छेउमै मकै खाजा भुटन लाग्नुभएको रहेछ मेरो घरको सामान माया मारिसकेको थिए सकुशल निकालिदिनु भयो खाजा खाएर जानुस् तपाईँहरूको लागि यो खाजा हो भन्नुभयो हामीले केही समय बसेर खाजा खायौँ अलि माथि पुगियाैँ एक जना २४/२५ बर्सिया महिला बाटोमा चिउरा,चाउचाउ र भुजा थालीमा लिएर निराश मुद्रामा हुनुहुन्थ्यो हामीलाई खान आग्रह गर्नुभयो होइन तपाईँहरू सङ्ग खाने केही छैन होला हामी खाँदैनौ भनियो उहाँले मान्नुभएन रुँदै भन्नुभयो यो सबै मेरो छोरीको लागि ल्याएको थिए ६ बर्सिया छोरी बितिसकी अब कसलाई दिनु र तपाईँहरूले यत्रो गुन लगाउनुभयो यति जसरी पनि खाएर जानुस् ! हामीले अलिअलि खायौँ र सान्त्वना दिएर फर्कियौ यहाँसम्म पुग्दा केही राहत र कतै त्रिपाल त कतै टेन्ट घर घरमा सरकारको तर्फबाट पुगिसकेको थियो ।
पाँचौँ दिन हामी फेरि वडा अध्यक्षको आग्रहमा फेरि सानीभेरी १ मै जाने निर्णय भयो सुरुमै प्रेम पुनको घरमा पुगियो जहाँ श्रीमान्,श्रीमती र दुई छोरा गरी ४ जनाको निधन भएको रहेछ सोही घरमा पुरिएर रहेका मकै,धान,कपडा देखि मृतकले तिहारका लागि ल्याएका केही सामान समेत सकुशल निकालियो,स्थानीय खलाने पुन,दलबिर पुन,बादी पुन लगायत धेरैको घरमा पुरिएका सामान निकालियो भने १ दर्जन भन्दा बढी परिवारका लागि छुट्टाछुट्टै अस्थायी आवास निर्माण गरियो हाम्रो सहयोग बाट त्यस चाइनाबगर टोलका स्थानीय पनि निकै खुसी थिए। निरन्तर उद्धार र अस्थायी आवास निर्माणको कार्य सकेजति धेरै ठाउँमा गर्ने कोसिस गरियो,अझै पनि धेरै काम बाकी छ उद्धारको केही मान्छे आउँछन् फोटो खिच्छन् जान्छन् तपाइहरू जस्तै गरी काम गर्दैनन् यही भन्छन् स्थानीय पीडितहरू।
हाम्रो ५ दिनको अभियान सकेका छौँ आफू घाइते हुँदा पनि काम प्रभावित भएन,निरन्तर सेवा भावले लागियो अब पनि पुनर्निर्माणको काममा थप योजना रकार्य विभाजन सहित लागिने छ यो अभियानमा सहभागी नारायण केसी,किरण विश्वकर्मा,निजाजन केही,जीवन खड्का, विशाल विष्ट सुन्दर शर्मा,रमेश गिरि,श्रीकुमार कठायत,चूडामणि खड्का,दिनेश खड्का,विनोद शर्मा डम्बर थापा लगायत सबैलाई विशेष धन्यवाद दिन चाहन्छु हामी तिहारपछि निरन्तर सेवामै खटिने प्रण समेत गर्दछु ।
लेखक अखिल क्रान्तिकारीका केन्द्रीय सचिव हुन ।