Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटले तोक्यो फोहोर उठाउने समय, तपाइको टोलको पालो कहिले ?

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले फोहोर उठाउने समय तोकेको छ । नगरका मुख्य स्थानबाट उत्सर्जन हुने फोहोर उठाउन नगरपालिकाले समय तोकेको हो । फोहोर सङ्कलनलाई व्यवस्थित बनाउन ठाउँ अनुसार फरक फरक समय तोकिएको नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो । 

साथै उहाँले आफ्नो टोलको समय अनुसार फोहोर उठाउने कार्यमा सहयोग गर्न सबै नगरवासीहरूमा अनुरोध गर्नुभयोे । हाल फोहोर उठाउन आउने समय निश्चित थिएन । जसका कारण कुनै ठाउँमा लामो समयसम्म फोहोर थुप्रिने समस्या रहेको थियो । यसलाई कम गर्न ठाउँ अनुसार समय तोकेर फोहोर उठाइने नगर प्रमुख केसीको भनाई छ । 

नगरका विभिन्न १३ वटा ठाउँका लागि फोहोर उठाउने समय तोकिएको छ । आइतबार खलङ्गा तल्लो बजार हुँदै जिल्ला प्रहरी कार्यालयसम्म र खलङ्गा माथिल्लो बजार, बाल मन्दिर, हुलाक मुनी, एभरेस्ट बैङ्क हुँदै रातामाटा जाने बाटोसम्मको फोहोर उठाइने नगरपालिकाले जारी गरेको फोहोर उठाउने तालिकामा उल्लेख छ । 

सोमबार बागबजार–त्रिवेणीचोक–कृषि विकास बैङ्क सम्म र जिल्ला समन्वय समिति–कालिका मन्दिर–त्रिवेणी चोकसम्मको फोहोर उठाइने छ भने मङ्गलवार शितलपोखरी–शेरिगाउँ–डिभिजन वन कार्यालय हुँदै विवेक सिसा पसलसम्मको र सोलावाङ बजारको फोहोर उठाइने प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डेयले जानकारी दिनुभयो । 

उहाँका अनुसार बुधवार खलङ्गा तल्लो बजार हुँदै जिल्ला प्रहरी कार्यालयसम्म र खलङ्गा माथिल्लो बजार, बाल मन्दिर, हुलाक मुनी, एभरेस्ट बैङ्क हुँदै रातामाटा जाने बाटोसम्मको तथा बिहीबार बागबजार–त्रिवेणीचोक–कृषि विकास बैङ्क सम्म र जिल्ला समन्वय समिति–कालिका मन्दिर–त्रिवेणी चोकसम्मको फोहोर उठाइने छ । 

शुक्रवार बहुतले पार्किङ–पातुखोला प्रहरी बिट–मठसम्मको र सल्ले अस्पतालसम्मको फोहोर उठाइने नगरपालिकाले जनाएको छ । सबै ठाउँमा बिहान ७ बजे फोहोर उठाउने गाडी आउने छन् । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले २ वटा टिप्पर प्रयोग गर्ने बताइएको छ । 

खलङ्गा बजार क्षेत्रमा हप्तामा २ दिन फोहोर उठाइने छ भने अन्य ठाउँमा हप्तामा एक दिन फोहोर उठाउने गरी नगरपालिकाले तालिका बनाएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले सूचना जारी गर्दै जानकारी गराउनुभएको छ ।

 

phohor-notice-(2)-1761903387.jpg

phohor-notice-(1)-1761903374.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update