पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जर्नादन शर्माले अव आउने राहतका सामग्रीहरू पुनर्निर्माण र अस्थायी आवासलाई सहयोग गर्ने खालको हुनुपर्ने बताउनुभएको छ । रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रमा विभिन्न निकाय तथा सङ्घ संस्थाले अहिले पनि राहतका सामग्री ल्याइरहेको बताउँदै अव राहतका सामग्री ल्याउँदा पुनर्निर्माण र अस्थायी आवासको लागि आवश्यक पर्ने सामाग्री ल्याउन आग्रह गर्नुभएको हो ।
आज मुसिकोटमा प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले राहतको नाममा अनावश्यक बस्तुहरू नल्याउन आग्रह गर्नुभएको छ । “राहतको नाममा जे पनि ल्याएको देखिन्छ, अहिले के आवश्यकता छ भन्ने कुरा थाहा छैन, यसरी ल्याइने राहतको कुनै औचित्य छैन”, शर्माले भन्नुभयो । राहतको नाममा बच्चाले खाने लिटो बच्चा नभएको घरमा बाँडिएको पाइएको पनि उहाँको भनाई छ ।
“पहाडी जिल्लामा मकै, गहुँ टन्न छ । बाहिरबाट चाउचाउ ल्याएर बाँडिएको छ । यसरी हुँदैन । अव राहत भनेको पुनर्निर्माण र अस्थायी आवासलाई सहयोग गर्ने खालको ल्याउन जरुरी छ”, उहाँले भन्नुभयो । अहिले आवश्यक राहत गाउँ–गाउँमा पुगी सकेको उहाँको भनाई छ । अस्थायी आवास निर्माणका लागि अहिले तत्काललाई राहत वितरणको काम पनि रोकिएको जानकारी गराउनुभयो । पीडितहरू राहतमा अल्झिएको र अस्थायी आवास निर्माणको काम ढिला भएकोले राहत वितरणको काम रोकिएको उहाँको भनाई छ ।
“प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण भैसकेका छैनन्, पीडितले राहत लगेर थुपारेका छन्, सितले भिज्ने डर छ, टहरा छैनन् । त्यसैले हामीले तत्कालको लागि राहत वितरणको कामलाई रोकेका हौँ, आवश्यकताको आधारमा फेरी राहत बाँड्ने छौ,” उहाँले भन्नुभयो । पुनः निर्माणको लागि विज्ञ तथा सरकारसँग छलफलका लागि आफू काठमाडौँ जान लागेको समेत उहाँले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो ।