Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता पशुपति माविका विद्यार्थीलाई खड्काको सम्मान 
पदक विजेता विद्यार्थीलाई खेल सामग्री हस्तान्तरण गर्दै पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर खड्का ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने मुसिकोट २ को पशुपति माविका विद्यार्थीलाई सम्मान गरिएको छ । विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा नेकपा माओवादी केन्द्र मुसिकोटका अध्यक्ष दलबहादुर खड्काले पदक प्राप्त गर्ने विद्यार्थीहरूलाई साेमबार सम्मान गर्नुभएको हो । दोसल्ला ओढाएर सम्मान गर्नुका साथै खेलकुदका सामग्री समेत प्रदान गर्नुभएको छ ।

उहाँले तीन जना छात्र र एक जना छात्रालाई सम्मान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिनुभयो । साथै खड्काले प्रोत्साहन स्वरूप तीन छात्रलाई एक एक वटा फुटबल र छात्रालाई एक हजार समेत प्रदान गरेको उहाँले बताउनुभयो । पदक जित्ने बाँकी विद्यार्थी र वडा नम्बर २ कै महाकाली माविका पदक विजेता विद्यार्थीहरूलाई अर्को दिन सम्मान गर्ने खड्काले बताउनुभयो ।

पशुपति माविले पाँच स्वर्ण, २ रजत र १ स्वर्ण गरी कुल ८ पदकका साथ पाँचौँ स्थान प्राप्त गरेको थियो । महाकाली माविले १ स्वर्ण र एक कांस्य गरी २ पदक जित्न सफल भएको थियो । विद्यार्थीलाई हौसला प्रदान गर्न सम्मान गरेको खड्काले बताउनुभयो । उहाँले जिल्ला स्तरीय शिल्डमा समेत राम्रो खेल प्रदर्शन गर्न विद्यार्थीहरूलाई शुभकामना दिनुभएको छ ।

अवसर र थप प्रशिक्षण पाएमा गाउँका विद्यार्थीले पनि राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भन्दै उहाँले विद्यालय स्तरबाटै खेलकुदको वातावरण राम्रो हुनुपर्नेमा जोड दिनुभयो ।  

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update