सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मिलन खड्का रोकाले रुग्ण आयोजनाको समस्या समाधान गरी निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायी र मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित रुग्ण आयोजना समीक्षा, समस्या समाधान तथा आयोजना सम्पन्नतासम्बन्धी छलफलमा मन्त्री रोकाले विकास निर्माणका काममा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोज्नुपर्ने बताउनुभयो । निर्माण व्यवसायीका वास्तविक समस्या समाधान गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै काम सम्पन्न गर्न देखिएका अवरोधबारे सम्बन्धित जिल्ला कार्यालय र मन्त्रालयमा आएर स्पष्ट छलफल गर्न उहाँले निर्देशन दिनुभयो ।
समस्यालाई थप जटिल बनाउनुको सट्टा त्यसको गाँठो फुकाएर विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्ने उहाँकोे भनाइ थियो । ‘हाम्रो उद्देश्य कसैलाई दोष लगाउनु वा अनावश्यक रूपमा दुःख दिनु होइन । विकास निर्माणका काम समयमै सम्पन्न गर्नु, सार्वजनिक स्रोतको सदुपयोग गर्नु र जनतालाई त्यसको प्रत्यक्ष लाभ पु¥याउनु हो,’ मन्त्री रोकाले भन्नुभयो । मन्त्री रोकाले निर्माण व्यवसायीले काम गर्ने प्रतिबद्धता जनाउने तर कार्यप्रगति नदेखाउने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । आवश्यक सहजीकरण गर्दा पनि जिम्मेवारी पूरा नगर्ने र काम अगाडि नबढाउने प्रवृत्तिलाई निरन्तर छुट दिन नसकिने बताउनुभयो । निर्माण व्यवसायीका समस्या समाधान गर्न मन्त्रालय र मातहतका कार्यालयबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित कार्यालयहरूले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो । सरकारी निकायले आवश्यक सहजीकरण गर्ने र निर्माण व्यवसायीले सम्झौताअनुसार काम सम्पन्न गर्ने प्रतिबद्धता व्यवहारमा देखाउनुपर्ने मन्त्री रोकाको भनाइ थियो ।
छलफलमा रोकिएका आयोजना, बहुवर्षीय आयोजना तथा विभिन्न कारणले ढिलाइ भएका निर्माण कार्यको अवस्था समीक्षा गर्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने विषयमा छलफल भएको थियो । कुन आयोजनामा के समस्या छ, त्यसको समाधान कसरी गर्न सकिन्छ र निर्माण कार्य कहिलेसम्म सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा मन्त्री रोकाले जोड दिनुभयो । रुग्ण आयोजनालाई समयमै सम्पन्न गरी विकास निर्माणका कामलाई परिणाममुखी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री रोकाले सबै पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । प्रदेश सचिव अर्जनकुमार बमले पटकपटक म्याद थप गर्दापनि प्रगति नदेखिएका योजनालाई कानुन बमोजिम अगाडी बढ्ने स्पस्ट पार्नुभयो । “म्याद थप गर्ने काम नगर्ने प्रवृत्ति अव रोकिनु पर्छ, अव काम नगर्ने निर्माण व्ययवसायिलाई छुट हुँदैन उहाँलले भन्नुभयो ।” जिम्मेवारी पुरा नगर्ने कार्यालय प्रमुखलाई पनि मन्त्रालयले गम्भीर रुपमा लिएको उहाँको भनाइ थियो ।
निर्माण व्यवसायिले अप्ठेरो भुगोलका कारण काममा ढिलाइ भएको बाउँदै योजनाको म्याद थप्न माग गरेका थिए । हाल कर्णालीका ८ वटा जिल्लामा १९ वटा रुग्ण आयोजनाहरु छन् । केहीको प्रगति शून्य छ भने केहीको प्रगति थोरै मात्रमा भएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा निर्माण व्यवसायी तथा मन्त्रालय मातहतका कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।





