साबिकको खारा गाविस (हालको त्रिवेणी गाउँपालिका वडा नम्बर ३, ४, ५) मा २४ वर्ष अघि अर्थात वि.सं. २०५६ साल फागुन १० गते सरकार र माओवादी बिच भिडन्त चल्यो । २०५२ फागुन १ गते सुरु जनयुद्धको ठुलो असर २०५६ साल फागुन १० गते खाराबासीले भोग्नुपर्यो । धेरैले परिवार गुमाउनुपर्यो । सयौँको सङ्ख्यामा सर्वसाधारणका घर गोठ प्रहरीले जलाएर ध्वस्त बनाइदियो ।
२०५६ फागुन ९ गते राती माओवादीका सेना खुम्चेरी आएको थाहा पाएपछि प्रहरी १० गते बिहानै त्यहाँ पुग्यो । सोही ठाउँकै थारेघरमा माओवादी सेनाहरू बसेका थिए । सिम्रतु प्रहरी चौकीबाट गएको प्रहरी टोलीले बिहानै ५ बजे रामबहादुर बाँठाको घर जलाइदियो । घर जलाई सकेपछि कसले जलाएको भनेर माओवादी सेना अनुसन्धानको लागि निस्किएका बेला प्रहरी र माओवादी सेना बिच लखेटालखेट भयो । त्यही क्रममा एक जना नेपाल प्रहरीको ज्यान गयो । माओवादीले एउटा राइफल र राइफलमा प्रयोग हुने ९९ वटा गोली समेत जफत गर्यो ।
त्यसपश्चात् घटनाले उग्र रूप लियो । माओवादी सेनालाई नियन्त्रणमा लिनको लागि दुई वटा हेलिकोप्टरमा थप प्रहरी त्रिवेणी ४ को खुम्चेरी र वडा नम्बर ३ को खौला (साबिकको खारा गाविस)मा झार्यो । हेलिकोप्टर नेपाल प्रहरीले क्षेत्रीय कार्यालय दाङको तुलसीपुरबाट बोलाएको थियो । त्यसपश्चात् खुम्चेरी गाउँ प्रहरीले घेरा हाले र खुम्चेरीबाटै घर गोठ आगो लगाउन सुरु गरे । अनि त्यहाँबाट प्रहरीको टोली दुम्दु, पोखरीको फाल्फाचौर पुगेर पुनः घर गोठ जलाउन सुरु गर्यो । यहाँ घरगोठमात्र जलाइएन प्रहरीले स्थानीयको ज्यान समेत लियो ।
स्थानीय भद्रबहादुर खड्काको गोली हानेर हत्या गरियो । त्यसपश्चात् नेपाल प्रहरीले साथमा लिएर आएको मदिरा खाएको र त्यसपछि प्रहरी टोली पोखरीगाउँ तिर झरेको माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य गणेशकुमार केसी अहिले पनि स्मरण गर्नुहुन्छ । पोखरी पुगेर प्रहरीले स्थानीयका घरगोठहरुमा आगो लगाइदियो र एउटै गाउँका ७ जनाको हत्या गरेको केसी बताउनुहुन्छ । त्यसपछि कुरल गाउँमा पुगेको प्रहरीले पुनः ७ जना स्थानीयको हत्या गर्याे । त्यहाँबाट दया गाउँ पुगेको प्रहरीले स्थानीय टिकाराम ओलीको हत्या गरेको केसी बताउनुहुन्छ ।
टिकारामको हत्या गरिसकेपछि प्रहरी टोली पुनः ७ जना मारेको ठाउँ कुरल हुँदै हाइवाङ थानी झर्यो । त्यहाँका सर्वसाधारणको घर गोठ आगो लगायो । एकैदिनमा गाउँ जलेर खरानी भयो । १५ जना प्रहरीबाट र १ जना माओवादीबाट गरेर १६ जनाको हत्या भयो । मारिनेमा सर्वसाधारण सहित माओवोदीका समर्थक थिए । तत्कालीन सरकारमा रहेको नेपाली काँग्रेसका वडा अध्यक्ष त्रिभान गिरी समेत खाराको युद्धमा मारिएको केसीले सुनाउनुभयो । साँझ भने माओवादीले प्रहरी चौकी नै आक्रमण गर्छ भन्ने डरले सिम्रुतु प्रहरी चाैकी खाली गरेर प्रहरी टोली जिल्ला सदरमुकाम खलङ्गा लागेको थियो ।
खारा घटनाको बेला सिम्रुतु प्रहरीको नेतृत्व शम्भु सुवेदीले गर्नुभएको थियो भने माओवादी सेनाको नेतृत्व चुनवाङका सुरेश पुन सुर्यले । त्यस बेला समाचारमा दुई सय ५० घर जलाएको खबर आए पनि ६५ देखि ७० सम्म घरहरू प्रहरीले जलाएको केसी बताउनुहुन्छ । उहाँका अनुसार माओवादी जनयुद्धलाई दमन गर्न आएको बेला खारामा माओवादी र प्रहरी बिच भिडन्त भएको थियो । त्यस बेला भने नेपाली सेना प्रयोग भएको थिएन । २०५८ सालदेखि सेना परिचालन भएको र नेपाली सेनाले २०५८ सालमा खुम्चेरीका मैसरा खड्का र विष्णु पुन खड्कालाई मारेको थियो । त्यो समयमा घर गोठ आगो लगाउने काम भएन ।
खारावासीको लागि कालो दिन
२०५६ साल फागुन १० गते खारामा राज्य पक्षबाट भएको नरसंहारलाई खाराबासीले कालो दिनको रूपमा लिने गरेको माओवादी नेता तथा घटनाका जानकार चन्द्रबहादुर खड्का अठोट बताउनुहुन्छ । तत्कालीन सरकार विरुद्ध माओवादीले सुरु गरेको सशस्त्र विद्रोहबाट अत्तालिएर राज्य पक्षले खारामा नरसंहार मच्चाएको उहाँको भनाई छ । नेपाललाई राजतन्त्रबाट लोकतन्त्र हुँदै गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशिताको अवस्थामा ल्याइपुर्याउन खारा घटनाको महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाई छ ।
यही विद्रोहबाट नै नेपालमा गणतन्त्र स्थापना भएको उहाँले बताउनुभयो । नेपाली सेनाको खारा ब्यारेकमा माओवादीले पटक पटक आक्रमण गरेको थियो । तर कब्जा भने गर्न सकेन ।
राज्यले सहिद परिवारलाई आजीवन भत्ता दिनुपर्छ
सहिद परिवारको अवस्था सुधार गर्न राज्यले सहिद परिवारलाई आजीवन भत्ता, निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगार दिनुपर्ने खड्काले बताउनुभयो । ‘सहिद परिवारलाई गाँस, बास कपास र उपचारको समेत समस्या भइरहेको छ, पार्टीको तर्फबाट आन्तरिक छलफल, सहिद परिवारलाई भेटघाट गरिहरेका छौँ,’ खड्काले भन्नुभयो ।
राज्यले परिपूरणको व्यवस्था गर्नुपर्ने, पिडकलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति, गाँस बास, कपास स्वास्थ्य, शिक्षा रोजगारको व्यवस्था भएमा सहिद परिवारलाई न्यायको महसुस हुने उहाँले बताउनुभयो । आगोलागि भएर क्षति भएका घरपरिवारले अझसम्म क्षतिपूर्ति पाउन नसकोको समेत उहाँले बताउनुभयो ।