रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जेन जी समूहले युवाहरूको भूमिका, भौतिक पूर्वाधार तथा सार्वजनिक यातायात सम्बन्धी ध्यानाकर्षण पत्र बुझाएको छ । बुधवार नगर उपप्रमुख धनकुमारी शाहीलाई जेन जी युवाहरूले विभिन्न विषयमा माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
समाज परिवर्तनमा युवाहरूको भूमिका सुनिश्चित गर्नु पर्छ भन्ने उद्देश्यका साथ युवाहरूको भूमिका र स्थानीय विकासका प्राथमिकतालाई मध्यनजर गर्दै जेन जी समूहको तर्फबाट विभिन्न ९ बुँदे मागहरू सहित नगरपालिकालाई ध्यानाकर्षण गराइएको जेन जी युवा समूहका एक सदस्य दीपेन्द्र बिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाको वरिपरि बजार क्षेत्रमा रहेको सडक कालोपत्रे र फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने, पालिका भित्र रहेका मुख्य सडक नियमित सरसफाइ तथा मर्मत गर्नुपर्ने, नगर भित्र सञ्चालन हुने गाडीमा यात्रुहरूका लागी भाडा निश्चित र गाडीको क्षमता अनुसार यात्रु राख्नुपर्ने माग राखिएको छ ।
त्यस्तै निर्माण भएका भवन, स्वास्थ्य चौकी छिटो तथा गुणस्तर रूपमा सञ्चालन र निर्माण गर्न बाँकी भवनको निर्माण पनि तत्काल गर्नुपर्ने, आर्थिक वर्षमा कुन शीर्षकमा कति बजेट विनियोजन गरिएको छ सबै सार्वजनिक गरी १ महिना भित्र ५० प्रतिशत कार्य पुरा गर्नुपर्ने, जुनसुकै कार्यक्रम विकास बजेट विनियोजनमा जेनजी युवाहरूलाई समावेश गर्नु पर्ने माग पेस गरिएको छ ।
त्यसै गरी नगरभित्र केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा तत्काल विद्युत् लाइन विस्तार गर्नुपर्ने, दाँजे, गोईरी, घेत्मा, नदुवा, सुन्दरपानी, स्यालाखदी चल्ने गाडीहरूमा ओभर लोड रोक्न र गाडीको अवस्था ठिक भए नभएको चेक गर्न अस्थायी प्रहरी पोस्ट राख्नुपर्ने, रातको समयमा आपत्कालीन बाहेक अरू समय गाडी चलाउन बन्द गर्नुपर्ने, काम गरिरहेका ठेकेदारहरूलाई छिटो छरितो काम गर्न आग्रह गर्ने र तोकेको समयमा काम पुरा भएन भने भुक्तानी रोक्का गर्न समेत जेन जी युवाहरूले माग पेस गरेका छन् ।
‘‘हाम्रा यी मागहरू अहिलेको जटिल परिस्थितिलाई मध्यनजर गर्दै युवाहरूको भूमिका र युवाहरूको भविष्य सुधारका लागी अति आवश्यक छन् । यी मागहरू प्रति नगरपालिकाको ध्यानाकर्षण भई ऐक्यबद्धता जनाई नगरपालिकाले माग सम्बोधन गर्छ भन्ने पूर्ण विश्वास लिएका छौँ’’ ध्यानाकर्षण पत्रमा भनिएको छ । साथै मागहरू २० दिन भित्र सम्बोधन नभए नगरपालिका कब्जा गर्ने चेतावनी समेत जेन जी समूहले दिएको छ ।





-1759842583.jpg)