
२५ जनाको क्षमता रहेको रुकुम पश्चिम कारागारमा हाल क्षमता भन्दा ६ गुणा बढी कैदी बन्दी रहेका छन् । कारागारमा हाल एक सय ५० कैदी बन्दी बस्ने गरेका छन् । विभिन्न अभियोगमा दोषी ठहर भएका र अभियोग लागेर फैसला हुन बाँकी रहेका गरेर एक सय ५० कैदी तथा थुनुवा रहेको बताइएको छ । ५ जना महिला र २० जना पुरुष गरी २५ जना क्षमताको कारागारमा हाल एक सय ५० कैदी तथा थुनुवा रहेको रुकुम पश्चिमका कारागार प्रशासक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक सय जना विभिन्न अभियोगमा दोषी ठहर भएका कैदी हुन । भने ५० जना विभिन्न अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरिएकाहरू हुन् । कारागार २५ जना अटाउने क्षमताको भए पनि क्षमता भन्दा ६ गुणा बढी हुँदा बसाई व्यवस्थापनमा समस्या भएको छ । कारागारमा खानेपानीकाे समेत उत्तिकै समस्या रहेको कारागार प्रशासक बढुवालले जानकारी दिनुभयो ।
भवन तथा कारागारमा देखिएका विभिन्न समस्याको समाधानको निम्ति पटक पटक मौखिक जानकारी तथा पत्राचार गर्दा पनि कारागार व्यवस्थापन विभागले बेवास्ता गर्दा कैदी बन्दी सास्ती भइरहेको छ ।रुकुम पूर्व र रुकुम पश्चिमका लागि एउटै कारागार हुँदा पनि ठाउँको अभाव हुने गरेको छ । जिल्ला अदालत रुकुम पूर्वबाट पनि दोषी ठहर भएका कैदी तथा अभियोग लागेका थुनुवा जिल्ला कारागार रुकुम पश्चिममै आउने गरेको कारागार प्रशासक बढुवालले जानकारी दिनुभयो ।
हाल कारागारमा पाँच जना महिलाको क्षमता भएकामा १० महिला, २० पुरुष अटाउने क्षमता भएकामा एक सय ३८ र दुई नाबालक रहेको कारागारका आन्तरिक प्रशासन प्रमुख (चौकीदार) प्रेम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार ७० वर्षमाथिका ४ जना कैदी बन्दी रहेका छन् । त्यस्तै १६ महिना र दुई वर्षका बालक पनि कारागारमा रहेका छन् ।
बाहिरी सुरक्षा सहज भए पनि कारागार भवन सानो हुँदा भित्री सुरक्षामा चुनौती रहेको कारागारका आन्तरिक प्रशासन प्रमुख गिरीले जानकारी दिनुभयो । दिनमा समस्या नभए पनि रातको समयमा सुताई व्यवस्थापनमा समस्या हुने गरेको एक कैदीले गुनासो गरे । ‘पाँच जनाको ग्रुपमा खाना पकाए खाने गरेका छौँ, दिनको समयमा विभिन्न खेलकुद खेल्ने, सामग्री निर्माण गर्ने गरेर समय कटाए पनि रातको समयमा ठाउँ अभावले सुताइमा समस्या हुने गरेको छ’ एक कैदीले भने ।
कारागारमा भवन र खानेपानीको समस्या प्रमुख रहेको बताउँदै सम्बन्धित निकायलाई यसमा सहयोग गर्न जिल्ला कारागार प्रशासनले आग्रह गरेको छ ।