समाजवादी मोर्चा रुकुम पश्चिमले पितिवाङखोला पुल निर्माण स्थलमा दबाब कार्यक्रम गरेको छ ।
मोर्चाले आइतबार राप्ती लोकमार्ग अन्तरगत पितिवाङखोलामा निर्माणाधीन सडक पुल स्थलमा दबाब कार्यक्रम आयोजना गरेको हो । विगत ४ वर्षदेखि अलपत्र पारिएको पुल निर्माणको काम तुरुन्त सुरु गर्न दबाब दिने उद्देश्यले दबाब कार्यक्रम आयोजना गरिएको मोर्चाका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।
मोर्चाले अबको एक हप्ता पर्खने र काम सुरु नभए जिल्ला प्रशासन कार्यालय घेराउ लगायतका थप सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो । पितिवाङ पुलको विषयमा मोर्चाले गत फागुन २७ गते जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाएको थियो । चैत्र ७ गतेको समयसीमाभित्र पुल निर्माणको काम सुरु नगरिएपछि मोर्चाले आज दबाब कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वसन्त शर्मा र एकीकृत समाजवादीका प्रदेश उपाध्यक्ष ठगेन्द्र पुरीले जनताका एजेन्डा र सुशासनको पक्षमा समाजवादी मोर्चा निरन्तर सङ्घर्षरत रहने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी हरि सीले सञ्चालन गरेको संक्षिप्त कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज चन्द्र सी, एकीकृत समाजवादीका जिल्ला सचिव सुरज परियार, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश केसी, मुसिकोट १२ का वडाध्यक्ष धिरन सिर्पाली, मुसिकोट ११ का वडाध्यक्ष गोविन्द बुढा लगायतका नेता कार्यकर्ता तथा स्थानीय जनताको उपस्थिति रहेको थियो ।
सरोकारवालाहरूले पटक पटक ध्यानाकर्षण गराउँदासमेत निर्माण कम्पनी र सम्बन्धित सरकारी निकायहरूले बेवास्ता गरेपछि समाजवादी मोर्चा सडक सङ्घर्षमा उत्रिएको हो ।
यस विषयमा निर्माण कम्पनीका सञ्चालक केशव लामिछानेसँग टेलिफोन सम्पर्क गर्दा पुलको लागि चाहिने ३७ टन डण्डी नेपालगन्जमा खरिद गरिसकेकोले चाँडै काम सुरु गर्ने आश्वासन दिनुभयो । यस्तै डिभिजन सडक कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले अबको केही दिनभित्र काम सुरु नगरे ठेक्का रद्द गर्ने अन्तिम तयारी गरिएको जानकारी दिनुभयो ।
राप्ति लोकमार्ग अन्तरगत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ११ र १२ स्थित पितिवाङ्ग खोलामा २०७८ वैशाख ७ गतेसम्म पुल निर्माण गर्ने गरी संरक्षण निर्माण सेवा प्रालि र डिभिजन सडक कार्यालय चौरजहारीबिच २०७६ असार ८ गते कार्य सम्झौता भएको थियो । मूल्य अभिवृद्धि कर बाहेक ४ करोड १२ लाख ३९ हजार ३७५ निर्माण लागत रहेको उक्त पुल ४ वर्षदेखि अलपत्र अवस्थामा छोडिएको छ ।
पुल नबन्दा पैदल यात्रुहरू, यात्रुवाहक सवारी साधनहरू, उद्योगी व्यवसायीका मालवाहक गाडीहरू, बिरामी बोकेका एम्बुलेन्सहरूले सास्ती पाइरहेका छन् ।