रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा वि.सं. २०७६ सालमा स्थापना भएको आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोष विपन्न, टुहुरा तथा जेहनदार विद्यार्थीहरूको लागि सहारा बन्दै गएको छ । पालिकामा रहेका विपन्न, टुहुरा तथा जेहनदार विद्यार्थीहरूको लागि शैक्षिक क्षेत्रमा अक्षयकोष भरोसा र सहारा बन्दै गएको हो । शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले स्थापना भएको अक्षयकोष पछिल्लो समय आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको सहयोगी बनेको छ । पालिका भित्र आर्थिक अभावका कारण शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरेको आमा बाबु स्मृति प्रतिष्ठान अक्षय कोषका अध्यक्ष चन्दबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अक्षय कोषबाट विपन्न, जेहनदार, सहिद परिवार तथा टुहुरा बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर वर्ष भरी पुग्ने गरी शैक्षिक सामग्री वितरण गर्ने गरिएको छ । यसबाट आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई ठुलो सहयोग पुगेको उहाँको भनाई छ । कोष स्थापना भएदेखि हालसम्म पालिका भित्र विभिन्न विद्यालयमा अध्ययनरत ३ सय २७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । ‘‘जुन उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो त्यो उद्देश्यले सार्थकता पाएको छ, हामीले पालिकामा शैक्षिक सुधार गर्न र पालिकामा रहेका कुनै पनि बालबालिका शिक्षा प्राप्त गर्नबाट वञ्चित नहुन भनेर कोष स्थापना गरेका थियौँ । उद्देश्य अनुरूप यसले सार्थकता पाएको छ’’ अध्यक्ष केसीले भन्नुभयो ।
विपन्न तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण मात्र नभई शैक्षिक सुधार गर्न पनि अक्षय कोषले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ । पालिका एउटा वटा नमुना विद्यालय छनोट गर्ने प्रक्रिया समेत यसै अक्षयकोषबाट अगाडी बढाइएको छ । स्थापना काल देखि नै विद्यालयले छनोट गरी पठाएका विपन्न, जेहनदार, सहिद परिवार तथा टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ । गत शुक्रवार मात्रै आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षय कोषबाट पालिका भरका सामुदायिक विद्यालयबाट छनोट गरेर १ सय १५ जना विद्यार्थीलाई वर्षभरि पुग्ने शैक्षिक सामग्री वितरण गरिएको थियो ।
यसमा अक्षय कोषको ३ लाख ५५ हजार खर्च भएको छ । प्रत्येक विद्यार्थीलाई एक एक वटा झोला, ६० वटा कापी, ४८ वटा कलम, एक वटा ज्यामिति बक्स, एक जोडा पोसाक, र एउटा टिफिन बक्सका दरले सामग्री वितरण गरिएको थियो ।
विद्यालयले छनोट गरेर पठाएका बालबालिकालाई छात्रवृत्ति वितरण सम्बन्धमा अक्षयकोष सञ्चालक समिति अन्तर्गतको छनोट समितिको बैठक बसेर अन्तिम निर्णय भएपछि हरेक वर्षको नयाँ शैक्षिक सत्रमा छात्रवृत्ति वितरण गर्ने गरिएको छ । यस अक्षयकोषमा देश तथा विदेशमा रहेका ९६ जना सहयोगीदाताहरूले रकम जम्मा गरेका छन् । अक्षयकोषमा हाल ३६ लाख ९५ लाख २ सय २५ रहेको छ । उक्त रकम २० प्रतिशत शिक्षामा लगानी गर्ने र हरेक वर्षको ब्याजबाट छात्रवृत्ति प्रदान गर्ने गरिएको अध्यक्ष केसीले बताउनुभयो । अबको केही वर्षमा अक्षयकोष एक करोड पुर्याउने र त्यसबाट शैक्षिक सुधारमा थप काम गर्ने संस्थाले जनाएको छ ।
आमा बाबुको सम्झनामा अक्षयकोष खडा गरेपछि गरिब तथा जेहनदार विद्यार्थीको पठनपाठनमा सहज भएको बाल विकास आधारभूत बडगाउँका प्रधानाध्यापक चन्द्रप्रकाश दाहालले बताउनुभयो । ‘‘आर्थिक अवस्था कमजोर भएकै कारण पालिका भित्रका बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य भएको छ, अहिले शैक्षिक सामग्री नभएर बालबालिकाले पढ्न नपाएको भन्ने छैन, आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षय कोषबाट शैक्षिक सामग्री प्राप्त गरेर बालबालिकाको पठनपाठन सहज भएको छ’’ प्रअ दाहालले भन्नुभयो । यस कार्यलाई निरन्तरता दिनुपर्ने उहाँको भनाई छ । पछिल्लो समय पालिकामा रहेका विपन्न, सहिद परिवार, जेहनदार तथा टुहुराको लागि आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोष वरदान नै साबित भएको उहाँले बताउनुभयो ।
छात्रवृत्तिले पठनपाठनमा सहज
बाफिकोट गाउँपालिका ७ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढारबाङमा कक्षा १० मा अध्ययनरत छात्र धनजित केसी आमा बाबु स्मृति प्रतिष्ठान अक्षयकोषबाट शैक्षिक सामग्री पाएपछि खुसी हुनुहुन्छ । उहाँले अघिल्लो पटक एक जोडा पोसाक, कापी, कलम, लगायत अन्य शैक्षिक सामग्री पाउनुभयो । ती शैक्षिक सामग्रीले आफूलाई वर्षभरि पुगेको र शैक्षिक सामग्री किन्नु नपरेको सुनाउनुभयो । आर्थिक अवस्था कमजोर भएपछि उहाँले यस वर्ष पनि सहयोग पाउनुभएको छ ।
‘‘हाम्रो आर्थिक अवस्था कमजोर छ, बुवा हुनुहुन्न, घरमा आमा र बहिनी हुनुहुन्छ, कापी कलम किन्नै मुस्किल हुन्थ्यो, अक्षयकोषबाट शैक्षिक सामग्री पाउन थालेपछि समस्या भएको छैन, घरपरिवारलाई पनि सहज भएको छ” कक्षा १० मा अध्ययनरत छात्र केसीले भन्नुभयो । परिवारको आर्थिक अवस्था कमजोर भए पनि अक्षयकोष स्थापना भएपछि भने पठनपाठनमा समस्या भएको नभएको र एक हिसाबले अक्षयकोष आफूहरूको अभिभाव बनेको उहाँको भनाई छ ।
अक्षयकोष स्थापना गरिएको विद्यालय बाँफिकोट गाउँपालिका ४ वीरेन्द्र माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा आशा केसीले पनि अक्षयकोषबाट शैक्षिक सामग्री प्राप्त गरेपछि पठनपाठनमा सहज भएको बताउनुभयो । “अक्षयकोषबाट शैक्षिक सामग्री प्राप्त गरेपछि घरको पैसाले शैक्षिक सामग्री किन्नु परेको छैन । वर्षभरि पुग्ने शैक्षिक सामग्री पाएको छु, आर्थिक रूपमा पनि घरपरिवारलाई सहज भएको छ । घरपरिवारलाई गुहार्नु परेको छैन” उहाँले भन्नुभयो । यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र आर्थिक अभावकै कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य हुनुपर्ने उहाँको भनाई छ ।
जिल्लाभर पहुँच विस्तार गर्ने लक्ष्य
आमा बाबुको सम्झनामा स्थापना गरिएको अक्षयकोष आर्थिक अवस्था बलियो बन्दै गयो भने पालिका हुँदै जिल्लाभर सेवा विस्तार गर्ने लक्ष्य रहेको संस्थापक अध्यक्ष केसीले बताउनुभयो । सुरुमा एउटा विद्यालयबाट सुरु गरिएको अक्षयकोषको सेवा हाल बाँफिकोट गाउँपालिकाका १० वटै वडामा रहेका सामुदायिक विद्यालयहरूमा पुगेको छ । केही वर्षपछि जिल्लामा रहेका सबै सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रममा समेट्ने योजना रहेको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
पहिलो प्राथमिकता आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित भएका बालबालिकालाई रहेको र त्यस पश्चात् भने शैक्षिक सुधारलाई प्राथमिकता दिइने छ । विभिन्न सहयोगीदाताहरूबाट नै यो कार्य सम्भव भएकाले अझै पनि यस अक्षयकोषमा जोडिन सकिने बताइएको छ । अक्षयकोषमा सरकारको कुनै पनि लगानी छैन । नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका कोषका संस्थापक अध्यक्ष केसी पछिल्लो समय कोष आर्थिक रूपमा बलियो हुँदै गएकाले ग्रामीण बस्तीहरूमा शिक्षा र स्वास्थ्यबाट वञ्चित रहेका बालबालिकालाई शिक्षा र स्वास्थ्यको पहुँचमा ल्याउन निरन्तर लागि पर्ने बताउनुहुन्छ ।