Kakhara सबैको खबर सम्पूर्ण खबर
बिस वर्षपछि प्रथम गुरुलाई भेट्दा..

सबैको आ-आफ्नै विगत छ । जीवनका आफ्नै कथाहरू छन् । आरोह अवरोह छन् । यसै सिलसिलामा नयाँ गन्तव्य खोज्दैमा रुमलियो विगत । गुरु फेरिए, साथी सङ्गति फेरिए, जिम्मेवारी पनि फेरियो । आफ्नै धुन र शैलीमा जीवन चल्न थाल्यो ।  जसका कारण भेट्नुपर्ने मान्छेहरू छुट्दा रहेछन् । सम्झनुपर्ने मान्छेहरू बिर्से जस्तो हुने रहेछ ।

जीवनका गुरुहरूको सूची लामो छ । जीवनको पहिलो गुरुप्रतिको श्रद्धा, आदर भाव र सम्मान उच्च हुँदो रहेछ । विगतका स्मृतिमा हराउँदा मेरो विद्यालय शिक्षाको पहिलो गुरु डिल्लीबहादुर खड्का अर्थात् हेडसरको स्थान उच्च छ । उहाँलाई भेट्न चाहेर पनि भेट्न सकिरहेको थिइनँ । 

गुरु पूर्णिमाको दिन सामाजिक सञ्जालमा पटक पटक खोजे । अहँ ! तर  कहीँ कतै भेटिन । सम्पर्क नम्बर खोजी गरेँ त्यो पनि  उपलब्ध हुन सकेन । शारीरिक अवस्था कस्तो छ होला ? अब त उमेर पनि धेरै भइसक्यो । विगतलाई कसरी स्मरण गर्नुहुन्छ होला ?  उहाँसँग भेटेर साक्षात्कार गर्न पाए यो मन कति हलुङ्गो हुन्थ्यो होला ! यस्तै यस्तै सन्दर्भले मन तरङ्गित थियो ।

पहिलो गुरुसँग साक्षात्कार गर्ने चाहना २० वर्षपछि पूरा भयो । लामो प्रतीक्षापछि भेटको अवसर प्राप्त मिल्यो । मन हलुङ्गो भयो । विगतको स्मृति ताजा बन्यो । गुरुप्रतिको श्रद्धाभाव जागृत भयो ।  यही सुखद अवसरमा गुरुप्रति केही शब्द खर्चिने जमर्को गरेको छु ।

गाउँबाट उहाँ बसाइँ सराइ गरेर दाङतिर गएको थाहा थियो । त्यसपछि उहाँ फर्केर गाउँ आएको खासै जानकारी भएन । हेडसरको नामले परिचित हुनुहुन्थ्यो । उहाँ सदाबहार हेडसर हुनुभयो । उहाँसँग मेरो विद्यालय जीवन छ । साथी सङ्गी र भौतिक संरचनाको छुट्टै प्रतिविम्ब छ । ती दिनहरूको आफ्नै कथा छ । बेग्लै स्मृतिहरूको चाङ छ । अफिस कोठामा भएको काठको दराज, हेडसरको छुट्टै कुर्सी र त्यसमा आसीन हेडसरको तस्बिर यो दिमागले राम्रोसँग खिचेको छ । बेला मौकामा ती स्मृतिहरू खुल्ने प्रयास गर्छन् । प्रस्फुटन हुने जमर्को गर्छन् ।

हेडसरसँगै जयराम दाइको पनि खुब याद आउँछ । उहाँ मेरो सहपाठी । स्कुल गएपछि हामी लेख्ने मात्रै काम गर्‍थ्यौं । स्वर र व्यञ्जन वर्ण, बाह्रखरी र किताबका पाठहरू सारेर हामी कहिल्यै थाकेनौँ ।  हेडसर समक्ष हस्ताक्षर गराउन पेस गर्‍थ्यौं । हेडसरले हामीले लेखेको कापीमा हस्ताक्षर गरेपछि खुसीले गदगद हुन्थ्यौँ । फेरि लेख्न सुरु भइहाल्थ्यो । लेख्न हामीलाई दिक्क लागेन । हेडसर पनि हस्ताक्षर गर्न कहिल्यै  थाक्नु भएन । झर्किनु भएन । चर्किनु भएन । मुस्कुराउँदै हो ठिक गर्‍यौ भन्दै निरन्तर स्याबासी दिनुभयो । जयराम दाइ र म निकै उत्साहित भयौँ । सुरुसुरुमा हामी पाठ कापीमा सार्दा डिकोलाई एकै पटक वरदेखि पल्लो कुनासम्म एकै पटक तानेर त्यसमै अक्षर लेखेर समेत पूरा गर्थ्यौँ । पटक पटक डिको तान्दा धौ हुने भएकोले हामी एकै पटक तान्थ्यौँ । हेडसरले प्रत्येक शब्दको एउटा डिको लगाउनुपर्ने बताएपछि हामीले त्यसै गर्न थालेका थियौँ । पटक पटक डिको हाल्न धौ हुन्छ भनेर एकै पटक परसम्म पुर्‍याएको सम्झना खुब आउने गर्छ ।

 कक्षाकोठामा बसेर लेख्ने अनि हेडसरलाई बुझाउन अफिस कोठामा जान्थ्यौँ । यस्तै कार्यमा हामी रमाइ रहेका थियौँ । हाम्रो आदर्श हेडसर हुनुहुन्थ्यो । यो दुनियाँको ठुलो मान्छे छ त त्यो हेडसर हो । हेडसर जस्तो जाने बुझेको पढेलेखेको अरू कोही छैन भन्नेमा हामी विश्वस्त थियौँ । त्यसैले हेडसर हाम्रो विशेष व्यक्तित्वको रूपमा स्थापित भइसक्नु भएको थियो ।

विशेष दिन र सन्दर्भहरूमा हेडसरको खुब याद आउँछ । यदि हेडसरले राम्रोसँग स्वर र व्यञ्जन वर्ण अनि बाह्रखरी नचिनाएको भए  मेरो हालत के हुन्थ्यो होला ! यदि हेडसरमा रिसाहा आक्रामक स्वभाव भएको भए म कसरी पढ्थे होला ? पटक पटक अक्षर सारेर हेडसरलाई बुझाउन जाँदा हेडसरले झन्झन् मानेको भए मेरो पढाइप्रतिको रुचि कहाँ पुग्थ्यो होला ? विगतको स्मृतिमा हराउँदा हिजोआज यस्तै कुरा मनमा खेल्ने गर्छन् । हेडसरको शालीनता र नम्रताबाट म साँच्चिकै प्रभावित भएको थिएँ । हेडसरसँगको अक्षर चिनारीकै कारण अक्षरहरूको खेतीपाती गर्ने स्थानमा छु । त्यसैले हेडसरप्रति श्रद्धाभाव थप सशक्त रूपमा जागृत भएको छ ।

IMG-20240501-WA0016-1718605999.jpg
गुरु जीवनको आदर्श हो । गुरुको महिमा अपार छ । एक सच्चा र सक्षम गुरु जीवनको मार्गदर्शक हो । असल गुरुमा शिष्यप्रति सधैँ निःस्वार्थपन र सेवा भाव हुन जरुरी हुन्छ । जीवनलाई सदमार्गमा हिँडाउनका लागि गुरुको एकवचन र व्यवहार नै काफी हुन्छ । गुरु भविष्य निर्माता हुन् । गुरुको स्थान सबैले प्राप्त गर्न सक्दैन । त्यसैले असल शिष्यका लागि गुरुको स्थान सधैँ अग्र हुन्छ । गुरु आफू जलेर शिष्यलाई प्रकाश दिन्छन् । गुरुको एउटै चाहना हुन्छ सबै शिष्यहरू गुरुले देखाएको सुमार्गमा लागुन् र गुरुले निर्धारण गरिदिएको गन्तव्यमा पुगुन्  । कुलत र गलत बाटोमा नलागुन् । जीवनलाई सार्थक र योग्य बनाउन् ।

विगतमा पनि देवतादेखि राजासम्म गुरु भएका दृष्टान्तहरू पाउन सकिन्छ । गुरुकै मार्गदर्शनले सफलता हात पारेका इतिहासहरू पढ्न सकिन्छ ।  तर पछिल्लो समय गुरुप्रतिको श्रद्धामा कमी आउँदै गएको आभास हुन थालेको छ । गुरुहरू व्यावसायिक बन्नुभयो वा शिष्यहरू सोचनीय विषय बन्दै गएको छ । सद्गुरु र असल शिष्यको खाँचो महसुस भएको छ । असल पथप्रदर्शनको अभाव हुन थालेको छ । मार्गदर्शनको अभावमा गन्तव्य बिनाको यात्रा जस्तै रुमलिनेहरूको सङ्ख्या बढ्दै गएको छ । स्वविवेकले जीवनलाई अस्थिरतातिर धकेल्दै लिएको छ । अनुशासन र धैर्यता टुट्दै गएको छ । असल निर्देशनको अभावमा जीवन जोखिममा पर्नेहरूको सङ्ख्या बढेको छ । सब थोक मै हुँ भन्नेहरूमा पनि आत्मविश्वासमा कमी आएको छ । जीवनको मार्ग लरबराएको छ ।

अन्त्यमा, गुरुप्रतिको श्रद्धा र सम्मान कमी गर्नु हुँदैन । जन्म दिने आमाबुवा र कर्म दिने गुरुलाई सधैँ उच्च स्थानमा राख्नुपर्छ । खोलो तर्‍यो लौरो बिर्स्यो झैँ गर्नु जीवनका लागि हानिकारक हुन्छ । जो असल गुरुप्रति झुक्न सक्छ, गुरुका असल वाणीहरूलाई आत्मसात् गर्छ उसले एक दिन अवश्य सार्थक जीवन प्राप्तिको अनुभूति गर्छ । गुरुलाई अपमान गर्नेको कहिल्यै पनि प्रगति हुँदैन । कुभलो चिताउने सधैँ बर्वादितिर दौडिरहेको हुन्छ तर उसलाई त्यसको ज्ञात हुँदैन ।  वर्तमानमा रमाउँदै गर्दा विगतलाई भुल्न अज्ञानता हो । विगतले वर्तमानमा थप जिम्मेवार बनाउन प्रेरित गर्दछ । विद्यालय शिक्षाको मेरो पहिलो गुरुलाई भेट्दा यति कुराहरू मनमा उद्वेलित भावका साथ प्रकट भए । प्रथम गुरु डिल्लीबहादुर खड्काको सु-स्वास्थ्य, दीर्घायुको कामना गर्दछु । हजुरको प्रेरणा सधैँ मेरो मानसपटलमा रहिरहनेछ । अर्काको कुभलो कहिल्यै पनि चिताउने छैन । नबिराउनु नडराउनु भन्ने हजुरको सुझावलाई सधैँ शिरोपर गरेर अगाडि बढ्ने प्रण गर्दछु । हजुरको चेलो हुन पाएकोमा मलाई गर्व छ । हजुरको सधैँ जय होस् । 

लेखकः रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update