Kakhara सबैको खबर सम्पूर्ण खबर
एसपिएलको खर्च विवरण सार्वजनिक, साढे २ लाख बचत 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ को बेलटापु रङ्गशालामा भएको सानीभेरी प्रिमियर लिग (एसपिएल)को खर्च विवरण सार्वजनिक गरिएको छ । असोज २२ गते सुरु भएको प्रतियोगिता असोज २६ गते सम्पन्न भएको थियो । आयोजक एसपिएल सञ्चालक समितिले प्रतियोगिता सकिएको अर्को दिन नै खर्च विवरण सार्वजनिक गरेको हो ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि देश तथा विदेशबाट कुल ६ लाख ४७ हजार १ सय ८८ रुपैयाँ सङ्कलन भएको थियो । त्यसमध्ये प्रतियोगिता सञ्चालनमा ३ लाख ९० हजार ४ सय ६१ रुपैयाँ खर्च भएको प्रतियोगिताका आर्थिक व्यवस्थापक नारायण ओलीले जानकारी दिनुभयो । प्रतियोगिताबाट २ लाख ५६ हजार ७ सय २७ रुपैयाँ बचत भएको उहाँको भनाई छ ।

पुरस्कार, प्रतियोगिता व्यवस्थापन, होटेल खर्च, सामग्री खरिद लगायत प्रतियोगिता सञ्चालन खर्च कटाएर सङ्कलित रकम बचेको उहाँले बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि देश तथा विदेशमा रहेका व्यक्तिहरूले आर्थिक सहयोग गरेका थिए । प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद समेत दिएको छ । प्रतियोगितालाई नियमित रूपमा वर्षमा एक पटक सञ्चालन गर्ने आयोजकले जनाएको छ ।

अहिले बचेका पैसालाई आगामी कार्यक्रममा खर्च गरिने बताइएको छ । २२ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको उपाधि दाङ तुलसीपुरको टिम भिमराजले जितेको थियो । चौरजहारी नगरपालिका द्वितीय हुँदा सानीभेरी गाउँपालिका र जाजरकोटको जेवाइसी सान्त्वना भएका थिए ।

विजेताले १ लाख १ हजार एक सय ११ रुपैयाँ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले ६० हजार तथा सान्त्वना हुने २ टिमले समान १० हजार पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिएको थियो । त्यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचलाई समेत पुरस्कृत गरिएको थियो ।

खेल खुला पालिका स्तरीय रहेको थियो भने प्रत्येक टिमले पालिका बाहिरका तीन जना खेलाडी राख्न पाएका थिए । पुरस्कार राशिका हिसाबले यो जिल्लाको हालसम्मको ठुलो क्रिकेट प्रतियोगिता हो ।

SPL-(2)-1760429664.jpg

SPL-(1)-1760429660.jpg

SPL-(3)-1760429659.jpg

 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update