Kakhara सबैको खबर सम्पूर्ण खबर
चौतारा मेलामा यो वर्ष पनि विभिन्न खेलकुद हुने, पुरुष भलिबलको विजेताले ३ लाख १५ हजार पाउने
फाइल फाेटाे ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा लाग्दै आएको चौतारा मेलाको अवसरमा यस वर्ष पनि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि महिला पुरुष भलिबल, पुरुष डबल ब्याडमिन्टन सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । 

गत वर्षको तुलनामा यो वर्ष पुरस्कार राशिमा वृद्धि गरिएको छ । यस वर्ष लाग्ने ३१ औँ चौतारा मेलामा आयोजित पुरुष भलिबलको विजेताले ३ लाख १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजक ३१ औँ चौतारा मेला मूल आयोजक समिति आठबिसकोटले जनाएको छ । 

उप विजेताले २ लाख १५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्दा सान्त्वना हुने २ टिमले समान ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष थोमसविक्रम शाहले जानकारी दिनुभयो । कप, मेडल र प्रमाणपत्रको समेत व्यवस्था रहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार महिला भलिबल तर्फ विजेताले १ लाख ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउँदा उप विजेताले १ लाख २५ हजार ५ सय ५५ तथा सान्त्वना हुने २ टिमले समान ४० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । महिला तर्फ पनि कप, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । 

पुरुष तर्फ दर्ता शुल्क १० हजार र महिला तर्फ ५ हजार तोकिएको छ । गत वर्ष पुरुष तर्फको विजेताले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ र महिला तर्फको विजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाएका थिए । महिला पुरुष भलिबल खुला रहेको छ । 

त्यस्तै पुरुष डबल ब्याडमिन्टनको विजेता जोडीले नगद ९० हजार ५ सय ५५ र उप विजेता जोडीले ६५ हजार ५ सय ५५ तथा सान्त्वना हुने २ जोडीले समान २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष शाहले बताउनुभयो । कप, मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको छ । दर्ता शुल्क २ सय तोकिएको छ । 

गत वर्ष ब्याडमिन्टनको विजेताले ८० हजार पुरस्कार पाएको थियो । यो वर्ष खेलकुदको पुरस्कार मात्र १२ लाख ६१ हजार ६ सय ६० रुपैयाँ खर्च लाग्ने आयोजक ३१ औँ चौतारा मेला आयोजक समितिका अध्यक्ष शाहको भनाई छ । सबै गरेर १८ देखि २० लाखसम्म खर्च हुने देखिएको उहाँको भनाई छ । 

सहयोग सङ्कलन गरेर खर्च व्यवस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो । प्रतियोगिता कार्तिक १० गतेदेखि सञ्चालन हुने छन् । साथै मेलामा स्थानीय झाँकी प्रदर्शन सहित सांस्कृतिक महोत्सव समेत सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update