Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा मतदाता नामावली दर्ता निराशाजनक 

रुकुम पश्चिममा मतदाता नामावली दर्ता निराशाजनक देखिएको छ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर अहिले देशभरमा नयाँ मतदाता नामावली दर्ता कार्यक्रम चलिरहेको छ । 

निर्वाचनको मिति तोकिएपछि मतदाता नामावली दर्ता कार्यक्रम बन्द हुने भए पनि यस पटक विशेष परिस्थिति रहेको भन्दै सरकारले निर्वाचन मिति तोकिएपछि पनि निश्चित समय दिएर मतदाता नामावली दर्ता खुलाएको छ । अहिले कार्तिक मसान्तसम्मका लागि निर्वाचन लक्षित मतदाता नामावली सङ्कलन कार्यक्रम चलिरहेको छ । 

तर रुकुम पश्चिममा भने हालसम्म नामावली दर्ता निराशाजनक देखिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ९६ जना नयाँ मतदाता थपिएका छन् । असोज १० गतेबाट आज सोमबारसम्म ६४ जना पुरुष र ३२ जना महिला गरी ९६ जना मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो । त्यस्तै १४ जनाले त्रुटि सच्याएका छन् भने १३ जनाले ठाउँ सारी गरेका छन् । 

निर्वाचन तोकिएको अवस्थामा मतदाता नामावली सङ्कलन कार्य खुला गरिए पनि जिल्लामा उत्साहजनक सहभागिता नरहेको उहाँले बताउनुभयो । जिल्लामा ६ हजारसम्म नयाँ मतदाता थपिने अनुमान गरिएकामा आजसम्म १ सय जना पनि नपुगेको उहाँको भनाई छ । 

‘हामीले जिल्लामा मतदाता नामावली दर्ता उत्साहजनक हुन्छ भन्ने सोचेका थियौँ, दिनमा कम्तीमा पनि १ सय जनासम्म थपिन्छन् कि भन्ने लागेको थियो, तर अहिलेसम्म १ सय जना नै नयाँ मतदाता थपिएका छैनन्, हामीले अनुमान गरे अनुसार ६ हजार नयाँ मतदाता थपिने अवस्था देखिँदैन,’ उहाँले भन्नुभयो । अहिले दिनमा मुस्किलले १०, १५ जना मतदाता नामावली भर्ने काम भइरहेको उहाँको भनाई छ । त्यो पनि पछिल्लो २ दिन देखि मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या केही बढेको हो । 

नयाँ मतदाता नामावली दर्ता कार्यक्रमका बारेमा जिल्लाका सबै पालिका देखि वडासम्मै जानकारी गराएको, प्रचार प्रसार गरेको भए पनि जिल्लामा मतदाता नामावली सङ्कलन उत्साहजनक हुन नसकेको कार्यालयले जनाएको छ । मतदाता नामावली बढाउनका लागि सरोकारवालाहरूसँग समन्वय भने भइरहेको कार्यालयको भनाई छ । 

जिल्लामा हाल कुल मतदाता सङ्ख्या १ लाख ४ हजार २ सय ३९ रहेको छ । जसमा पुरुष ५२ हजार ७ सय ८८ जना रहेका छन् भने महिला ५१ हजार ४ सय ५० तथा अन्य मतदाता १ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै जिल्लामा ७६ वटा मतदान स्थल रहेका छन् । 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update