Kakhara सबैको खबर सम्पूर्ण खबर
पाँचपूणी मेलाको खर्च विवरण सार्वजनिक, एक लाख बढी बच्याे

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा लागेको पाँचपूणी मेलाको खर्च विवरण सार्वजनिक गरिएको छ । बराहटाकुरा पाँचपूणी मेला सञ्चालन तदर्थ समितिले आज खलङ्गाको कालिका स्थानमा एक कार्यक्रमको आयोजना गरी खर्च विवरण सार्वजनिक गरेको हो । 

विभिन्न व्यक्ति तथा व्यवसायीबाट सहयोग सङ्कलन गरेर मेला लगाइएको थियो । मेला सञ्चालनका लागि २ लाख ३७ हजार ५ सय २७ रुपैयाँ सङ्कलन भएको थियो । जसबाट १ लाख २४ हजार ७ सय १० रुपैयाँ खर्च भएको छ । मेलाबाट १ लाख १२ हजार ८ सय १७ रुपैयाँ बचेको मेला सञ्चालन तदर्थ समितिका सचिव गोपाल थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार मेलामा सहभागी सबै झाँकी नृत्य समूहलाई पुरस्कार स्वरूप ९१ हजार दिइएको छ भने साउन्ड सिस्टम भाडा तथा पेन ड्राइभ खरिदमा १ हजार ९ सय, ब्यानर तथा सम्मान पत्र छपाइमा १६ हजार, सरसफाइमा ४ हजार ५ सय ६०, मसलन्द खर्च २ हजार, सूचना प्रसारण २ हजार, त्रिपाल खरिदमा ७ सय ५०, ड्रोन चार्ज ६ हजार र कुर्सी भाडामा ५ सय खर्च भएको छ । 

सबैको सहयोगबाट मेला भव्य बनेको उहाँले बताउनुभयो । हरेक वर्ष दसैँको पाँच पूर्णिमामा लाग्ने मेला पछिल्लो समय लोप हुने अवस्थामा पुगेको थियो । यो वर्ष भने स्थानीयले मेला लगाएका हुन् । हेमराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेर मेलाको तयारी गरिएको थियो । फलस्वरूप मेला भव्य बनेको सचिव थापाको भनाई रहेको छ । 

उहाँका अनुसार बचेको रकम समितिको खाता सञ्चालन गरेर राख्ने र आगामी वर्षको मेला व्यवस्थापनमा खर्च गरिने छ । याे वर्षकाे मेला असाेज २१ गते लागेकाे थियाे ।   

panch-purnima-mela-(10)-1759842583.jpg

panch-purnima-mela-(3)-1759842549.jpg

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update