Kakhara सबैको खबर सम्पूर्ण खबर
एक करोड बढी खर्चेर सोलावाङमा सिसमहल मन्दिर निर्माण
साेलावाङमा निर्माण गरिएकाे सिसमहल ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलावाङमा शिव धाम मन्दिर निर्माण गरिएको छ । शिव धाम संरक्षण समितिले सोलावाङमा सिसैसिसाको मन्दिर निर्माण गरेको हो । मन्दिरको भित्री भागमा सिसा प्रयोग गरेर कलात्मक आकृति सहितको सुन्दर सिसमहल निर्माण गरिएको शिव धाम संरक्षण निर्माण समितिका अध्यक्ष जर्नादन शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार मन्दिरको भित्री भागमा सिसा प्रयोग गरेर फरक फरक डिजाइनमा आकृति निर्माण गरिएको छ । सिसा सँगै बिचबिचमा ऐनाको पनि प्रयोग गरिएको छ । भित्री भागमा सिसाको आकृति बनाउने काम सकिएको र बिच भागमा शिवको मूर्ति स्थापना गर्न बाँकी रहको उहाँले जानकारी दिनुभयो । मन्दिर नजिकै एउटा विवाह मण्डप पनि निर्माण गरिएको  । 

मन्दिरको चारैतर्फ रेलिङ लगाइएको छ । भने भुईँमा मार्बल प्रयोग गरिएको छ । सिसमहल निर्माण गर्नको लागि नेपालमा कालिगड नभएपछि भारतको नयाँ दिल्लीबाट ल्याएर सिसमहल निर्माण गरिएको हो । हालसम्म मन्दिर निर्माणमा करिब १ करोड सात लाख खर्च भइसकेको समितिका अध्यक्ष शर्माले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वन वातावरण मन्त्रालय मार्फत डिभिजन वन कार्यालयबाट ७५ लाख, मुसिकोट नगरपालिकाबाट २८ लाख, देउसी भैलो खेलेको १ लाख २० हजार, वैदेशिक रोजगारीमा गएका युवाहरूबाट १ लाख ९ हजार सहित अन्य खर्च गरेर हालसम्म १ करोड ७ लाख खर्च भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो  । 

उक्त रकमबाट मन्दिर निर्माण, राप्ती राजमार्गबाट मन्दिरसम्म पुग्न पक्की बाटो निर्माण, विवाह मण्डप निर्माण, पर्खाल निर्माण, रेलिङ,  मार्बल बिछ्याउने काम गरिएको छ । अव मन्दिरको बिचमा शिवको मूर्ति स्थापना गर्ने र मन्दिरको गजुरको मुनी हुन्नो (ठुलो आकारको गाग्री) राख्ने काम बाँकी रहेको छ । बाँकी काम उद्घाटनको दिन साउन ४ गते पूजापाठ सहित गर्ने तयारी गरिएको संरक्षण समितिले जनाएको छ ।

438125103_988397872942813_3744363111295283670_n-(1)-1718757851.jpg
देउसी भैलो खेलेर निर्माण गर्ने योजना बनाएको मन्दिर कर्णाली प्रदेशमै पहिलो 
२०७८ सालमा शिव धाम संरक्षण समिति निर्माण गरियो भने जिल्ला प्रशासन कार्यालयमा दर्ता भयो । त्यस पश्चात् मन्दिर बनाउने योजना समितिले बनायो । जग्गा खोज्दै जाँदा अन्य ठाउँमा नमिलेपछि गाउँको बिचमा जनार्दन शर्मा र विमल शर्मा मिलेर १ रोपनी जग्गा निःशुल्क उपलब्ध बनाउनुभयो । जग्गा प्राप्त भएपछि भने २०७८ साल असोजमा देउसी भैलो खेलेर सङ्कलन भएको १ लाख २० हजार रुपैयाँ खर्च गरेर जग्गा मिलाउने बनाउने र रुख हटाउने काम भएको शिव धाम संरक्षण समितिका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

आफूहरूले योजना बनाएर काम अगाडी बढाएपछि अहिले प्रदेश तथा स्थानीय सरकारको नजरमा समेत मन्दिर परेको र कर्णाली प्रदेशमै पहिलो सिसमहल निर्माण गर्न सफल भएको बताउनुभयो । सिसमहल निर्माणको लागि यसै आर्थिक वर्षमा २० लाख बजेटमा डिभिजन वन कार्यालय रुकुम पश्चिमले टेन्डर आह्वान गरेको थियो । सोही टेन्डरमा नवीन निर्माण सेवाले ठेक्का पारेर सिसमहल निर्माणको काम सम्पन्न गरेको छ । यस अघि नवपरासीको सुस्ता गजेन्द्र मक्षधाम र नुवाकोटको काभ्रेस्थलीमा सिसमहल निर्माण गरिएको छ । यो नेपालकै तेस्रो र कर्णाली प्रदेशमा पहिलो सिसमहल मन्दिर भएको संरक्षण समितिले जनाएको छ । 

438137544_1821469815024038_3565570599631184758_n-1718757854.jpg
स्थानीयलाई रोजगारीमा जोड्न होमस्टे सञ्चालन गर्ने तयारी 
गाउँको बिच भागमा मन्दिर निर्माण गरिएको छ । पछिल्लो समय सिसमहल सहितको मन्दिर निर्माण गरिएसँगै मन्दिर हेर्न आउनेको सङ्ख्या बढ्न थालेको छ । जिल्ला बाहिर र भित्रबाट पर्यटकहरू आउने गरेको संरक्षण समितिले जनाएको छ । टाढाबाट मन्दिर हेर्न तथा पूजापाठ गर्न आउने व्यक्तिहरूको सहजताको लागि मन्दिर नजिकैका ७ वटा घरलाई होमस्टेको रूपमा विकास गर्ने योजना बनाएको मन्दिर संरक्षण समितिको भनाई छ ।

होमस्टे निर्माण भएसँगै स्थानीयको आर्थिक अवस्था सुधार हुनुका साथै रोजगारीको पनि सिर्जना हुने अपेक्षा गरिएको छ । टाढाबाट आउने भक्तजनहरूलाई पनि बसाइँमा सहज हुने समितिले जनाएको छ । पूजापाठ गर्न अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको र मन्दिर निर्माणसँगै स्थानीयलाई आर्थिक रूपमा सहज हुने स्थानीय कपिलदेव शर्माको विश्वास छ । ‘‘देउसी भैलोबाट सुरुवात गरेको कामले हामी यहाँसम्म पुग्यौँ, यस्तो मन्दिर बन्ला भन्ने त सोचेका पनि थिएनौ, तर निरन्तर लागिरहँदा गाउँमै ठुलो मन्दिर बन्यो, दिनदिनै जिल्ला भित्र तथा बाहिरबाट मान्छेहरू अवलोकन गर्न आउँछन् । अव हामीलाई आर्थिक रूपमा पनि केही सहज विश्वास गरेका छौँ, शर्माले भन्नुभयो ।’’   

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update