Kakhara सबैको खबर सम्पूर्ण खबर
मुख्यमन्त्री कप क्रिकेट: रुकुम पश्चिम र कालिकोट सेमिफाइनलमा 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी मुख्यमन्त्री कप टी–२० क्रिकेटमा रुकुम पश्चिम र कालिकोट सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ए बाट रुकुम पश्चिम विजेता र कालिकोट उप विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् । रुकुम पश्चिम ४ अङ्क सहित समूह विजेता बन्यो भने कालिकोट ३ अङ्कका साथ समूह उप विजेता बनेको आयोजक कर्णाली प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ ।

रुकुमले पहिलो खेलमा वर्षाका कारण खेल रद्द हुँदा दैलेखसँग अङ्क बाँडेको थियो । दोस्रो खेलमा जाजरकोटलाई पराजित गरी २ अङ्क जोडेको रुकुम पश्चिमले आज कालिकोटसँग पनि वर्षाका कारण खेल रद्द हुँदा अङ्क बाँड्यो । पहिलो खेलमा जाजरकोटसँग पराजित भएको कालिकोटले दोस्रो खेलमा भने दैलेखलाई पराजित गर्दै दुई अङ्क जोडेको थियो । समूह ए बाट जाजरकोट र दैलेख समूह चरणबाटै बाहिरिएका छन् ।

समूह बि बाट सेमिफाइनल पुग्ने टोलीको भने भोली टुङ्गो लाग्ने कर्णाली प्रादेशिक क्रिकेट सङ्घका सचिव श्रीधर केसीले जानकारी दिनुभयो । भोली सुर्खेत र सल्यान बिच हुने खेलबाट सेमिफाइनल पुग्ने दुई टिमको टुङ्गो लाग्नुका साथै समूह विजेताको समेत टुङ्गो लाग्ने छ । समूह बि मा सल्यान २ अङ्कका साथ शीर्ष स्थानमा छ भने सुर्खेत र जुम्लाको समान एक एक अङ्क रहेको छ । 

यसैबिच समूह बि अन्तर्गत आज भएको खेलमा सल्यानले जुम्लालाई २४ रनले पराजित गरेको छ । वर्षाका कारण प्रभावित भएको खेल ५ ओभरमा झारेर खेलाइएको थियो । टस जितेर ब्याटिङमा उत्रिएको सल्यानले ५ ओभरमा ३ विकेट गुमाएर ३७ रन बनाएको थियो । सल्यानका लागि विक्रम रोकाले सर्वाधिक १९ रनको योगदान गर्दा आशिष सिंहले ८ र कप्तान दिवान पुनले ४ रन बनाए । बलिङ तर्फ जुम्लाका महेश हमाल, मनोज भारती र निमा तामाङले समान एक एक विकेट लिए । 

३८ रनको लक्ष पछ्याउने क्रममा जुम्ला मात्र १३ रनमा समेटिएको थियो । जुम्लाका लागि नवीन बुडथापाले ५, योगेन्द्र रोकायले २ र सुवर्ण शाहीले १ रन मात्र बनाउन सके । जुम्लालाई सस्तैमा समेट्न सल्यानका विक्रम रोकाले ३ र कप्तान दिवान पुनले १ विकेट लिए । बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका सल्यानका विक्रम रोका प्लेयर अफ द म्याच घोषित भए । 

प्रतियोगितामा कर्णाली प्रदेशका ७ जिल्लाको सहभागिता रहेको छ । सहभागी जिल्लालाई दुई समूहमा विभाजन गरेर खेल सञ्चालन भइरहेको छ । समूह ए मा रुकुम पश्चिम, कालिकोट, जाजरकोट र दैलेख रहेकामा समूह बि मा सुर्खेत, सल्यान र जुम्ला रहेका छन् । प्रतियाेगिता कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको हाे । 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update