Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा ५१ प्रतिशत मात्र धान रोपाइँ 

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ का सर्वजित् पुनको परिवारले खेतमा धान रोपेर केही दिन अघि मात्र सक्नुभयो । ज्येष्ठ महिनामा ब्याड बनाएर राखिएको धानको बीउ एक महिना पछि रोपिएको हो । उहाँको परिवारले अघिल्ला वर्ष जस्तै यस वर्ष धुलधामका रोपाइँ गर्‍यौँ । सिस्ने ३ पोखराका तिलक खड्काको खेतमा रोपाइँ भइरहेको छ । खेतमा हली बाउसे र रोपार्नीको चहलपहल छ । असारे झरीमा रोपार्नीले गुन्जाउने भाकाले खेतका फाँटहरू गुन्जिएका छन् ।

पुन र खड्का मात्र होइन जिल्लाका अधिकांश ठाउँका किसान अहिले धान रोपाइँको चटारोमा छन् । धान खेती हुने क्षेत्रमा अहिले रोपाइँ चलिरहेको छ । मानो रोपेर मुरी फलाउने यो समयमा किसान खेतमा व्यस्त छन् । आलि बनाउने देखि हलीले खेत जोतिरहेका छन् भने रोपारहरू रोपिरहेका छन् । अहिले किसानलाई धान रोप्न भ्याई नभ्याई छ । 

जिल्लाका तीन गाउँपालिका मध्ये सिस्ने गाउँपालिका बढी धान रोपाइँ हुने पालिका हो । यस पालिकाको वडा नम्बर १ र २ बाहेक अन्य ६ वडामा धान रोपाइँ हुने गरेको छ । ३ नम्बर वडाको मूल पानी, बोझेरी तथा ४ नम्बर वडाको अमलाचौर र ५ नम्बर वडाको धाउन्ने, लगायतका फाँटमा रोपाइँ हुँदै आएको छ । ६ नम्बर वडाको सेराखेत तथा ७ नम्बर वडाको नाथिगाड र ८ नम्बर वडाको तिप्तारा, धपे तथा खरमखोला र भलखोला लगायतका खेतमा धान रोपाइँ हुने गरेको छ । 

449792045_991852662493492_3354269699578945178_n-1720346906.jpg

यस्तै भूमे गाउँपालिकाको वडा नम्बर ३ को सीमा र ९ नम्बर वडाको चुनवाङमा मात्र धान रोपाइँ हुने गरेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले जानकारी दिएको छ । १४ वडा रहेको पुथाउत्तरगंगा गाउँपालिकामा भने कुनै पनि वडामा धान खेती हुँदैन । भिरालो जमिन भएको कारण यस पालिकामा धान खेती नहुने गरेको कृषि कार्यालयले जानकारी दिएको छ । जिल्लामा नौ सय ६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । 

अहिलेसम्म चार सय ९१ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पीताम्बर बस्नेतले जानकारी दिनुभयो । यो कुल रोपाइँ हुने क्षेत्रको ५१ प्रतिशत मात्र हो । कुन पालिकाको कति हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने विवरण भने कार्यालयले तयार पारेको छैन । प्रमुख बस्नेतका अनुसार समयमै वर्षा नहुनु तथा सिँचाइको अभावको कारण धान रोपाइँमा ढिला भएको हो ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update