गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षती पुर्याएको रुकुम पश्चिममा २ हजार २ लाभग्राहीले अझै पहिलो किस्ता पाउन सकेका छैन् । भूकम्प गएको झण्डै दश महिना वितिसक्दा पनि पीडित पहिलो किस्ताको पर्खाइमा छन् । पहिलो किस्ता प्राप्त गरेका सबै लाभग्राहीले पनि दोस्रो किस्ता पाउन सकेका छैनन् ।
जिल्लामा ३२ हजार ९ सय ९६ लाभग्राहीले पहिलो किस्ता बापत २५ हजार रुपैयाँका दरले रकम पाएको र बाँकी २ हजार २ लाभग्राहीका लागि रकम अपुग भएकाले प्राधिकरणमा माग गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।उहाँका अनुसार पहिलो किस्ता बापत २५ हजार रुपैयाँका दरले ३२ हजार ९ सय ९६ लाभग्राहीले ८२ करोड ४९ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
जसमा आठबिसको नगरपालिकामा सवैभन्दा धेरै १० हजार ३ सय ९४ र सबैभन्दा कम मुसिकोट नगरपालिकाका १ हजार ६ सय ६० लाभग्राही रहेका छन् । त्यस्तै चौरजहारी नगरपालिकाका ७ हजार ५ सय २, सानीभेरी गाउँपालिकाका ६ हजार ७४, बाँफिकोट गाउँपालिकाका २ हजार ६ सय ४१ र त्रिवेणी गाउँपालिकाका ४ हजार ७ सय २५ लाभग्राही रहेका छन् । जिल्ला विपत् व्यवस्थापनबाट हालसम्म १६ हजार लाभग्राहीका लागि दोस्रो किस्ता स्थानीय विपत् न्युनिकरण कोषमा पठाएपनि ती सबै लाभग्राहीहरुले दोस्रो किस्ता पाउन नसकेको गुनासो गरेका छन् ।
दोस्रो किस्ता बापतको २५ हजार रुपैयाँका दरले स्थानीय विपत् न्युनिकरण कोषमा ४० करोड रकम पठाएको छ । बाँफिकोट गाउँपालिका र मुसिकोट नगरपालिकामा अहिलेसम्म दोस्रो किस्ता बापतको कुनै पनि रकम जान सकेको छैन् । यी दुई स्थानीय तहले दोस्रो किस्ता माग नगरेकाले दोस्रो किस्ता बापतको रकम पठाउन नसकिएको विपत् व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।
दोस्रो किस्ताको लागि स्थानीय तहहरुबाट माग भए बमोजिम अपुग रकम प्राधिकरणमा माग गरिएको जिल्ला विपत् व्यवस्थापन समिति रुकुम पश्चिमले जनाएको छ ।





-1759842583.jpg)