
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा रहेको त्रिभुवन जनता माविका विद्यार्थीलाई भूकम्प सम्बन्धी सचेतना फैलाइएको छ । २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मले विद्यार्थीका लागि भूकम्प सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
भूकम्प के हो, कसरी जान्छ, नेपाल किन भूकम्पीय जोखिममा छ र भूकम्पीय क्षति र जोखिम न्यूनीकरणका उपाय लगायतका बारेमा विद्यार्थीहरूलाई सहजीकरण गरिएको सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माले जानकारी दिनुभयो ।
विद्यार्थीहरूलाई भूकम्पबाट बच्ने उपायबारे सिकाएर भूकम्पबाट हुने क्षतिलाई कम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । कार्यक्रमको सहजीकरण सशस्त्र प्रहरी निरीक्षक शर्माले गर्नुभएको थियो ।
दिवसको अवसरमा आज भूकम्प सम्बन्धी सचेतनामूलक कार्यक्रम भएकामा यसअघि रक्तदान, सरसफाइ, सचेतना र वृक्षारोपण जस्ता कार्यक्रम सञ्चालन गरेको सशस्त्र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदन धानुकले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला अस्पतालमा रक्तदान, डिग्रे मन्दिरमा सरसफाइ, मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित यमुना नन्द नमुना माविमा विपत् व्यवस्थापन र शीतलहरबाट बच्ने उपाय सम्बन्धी सचेतना कार्यक्रम र गुल्म परिसरमा वृक्षारोपण गरिएको हो । २४ औँ सशस्त्र प्रहरी दिवस आगामी माघ ९ गते मनाइँदै छ । दिवसको अवसरमा गुल्मले अन्य विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्ने जनाएको छ ।