
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८४ मा नेकपा माओवादी केन्द्र २०६४ को तुलनामा ठुलो हुनै पर्ने बताउनुभएको छ । जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत बुधवार रुकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले आउँदो चुनाव अर्थात् २०८४ मा माओवादी केन्द्र २०६४ को तुलनामा ठुलो हुनै पर्ने बताउनुभयो ।
यदि बदमासी भयो भने सडकबाट फेरि एक पटक क्रान्ति गर्ने संकल्प गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।
‘हामी आगामी २०८४ मा २०६४ को तुलनामा ठुलो हुनै पर्छ, यदि बदमासी भयो भने फेरि एक पटक सडकबाट क्रान्ति गर्नै पर्छ, म यो अपिल तपाइहरू सामु गर्छु, उहाँले भन्नुभयो–तपाइहरू सबैले अध्यक्षको हैसियतले मलाई भरोसा गर्नुभएको छ, रुकुमेली जनसमुदायको बिचमा म पनि एउटा संकल्प गर्छु, ७१ वर्षको उमेरमा देशव्यापी अभियानमा त्यत्तिकै दौडिएको छैन, एउटा नयाँ क्रान्ति पुरा गरेर मात्र विश्राम लिन्छु ।’
साथै उहाँले आफूलाई जनताको सिपाहीको रूपमा प्रस्तुत गर्ने जमर्को गरेर अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । फेरि एकतालाई सुदृढ गरेर समाजवादी क्रान्ति अघि बढाउन उहाँले एक ढिक्का हुन सबै नेता कार्यकर्तालाई अपिल पनि गर्नुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइरहेको छ
यसैबिच उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइरहेको समेत बताउनुभयो । पछिल्लो समय जनताको रगत र पसिनाबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइरहेकाे उहाँले बताउनुभएको हो । ‘फेरी एउटा नयाँ बहस, नयाँ संघर्ष सुरु भइसकेको छ, हामीले हजारौँ व्यक्तिको रगत र पसिना बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइरहेको छ, यसको रक्षा गर्ने जिम्मा पनि हाम्रै हो, हामी यसको रक्षा गर्छौ’ उहाँले भन्नुभयो ।
माओवादी केन्द्रले १० वर्षे जनयुद्ध लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको स्मरण गर्दै उहाँले यो व्यवस्थामा महिला, दलित, उत्पीडित तल्लो स्तरको वर्गले अधिकार प्राप्त गरेको बताउनुभयो । त्यसको निम्ति पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न माओवादी केन्द्रले जिम्मेवारी लिनुपर्ने बताउनुभयो । ‘माओवादी केन्द्रले हिम्मत र साहस गरेन भने यो सम्पूर्ण स्टिम कोल्याप्स हुने खतरा छ, हामी यो व्यवस्था बचाउने मात्र होइन यसलाई विकास गरेर समाजवादी व्यवस्थामा पुग्न पहल गर्छौ,’उहाँले भन्नुभयो ।
त्यस्तै उहाँले देशमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको लागि नयाँ युगतिर देशलाई लैजानको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने बताउँदै उहाँले यसलाई देशव्यापी रूपमा स्थापित गर्न पार्टी निरन्तर लागेको समेत उहाँले बताउनुभयो । अहिलेको व्यवस्था बचाउने मात्र भनेर लागियो भने सफल नहुने तर यो व्यवस्थालाई सुधार गरेर समाजवादी व्यवस्था तर्फ अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।
माओवादीले सुशासन कायम गर्न थालेपछि सरकार ढालियो
माओवादीले सुशासनका पक्षमा दह्रोसँग काम गर्दै गएपछि यथास्थितिवादी पार्टी, भ्रष्टाचारी र बिचौलियाहरू मिलेर सरकार ढालेको उहाँले टिप्पणी गर्नुभयो । आफू प्रधानमन्त्री भएको बेला आफूमाथि समेत अनुसन्धान गर्न र कमजोरी पाइएमा कारबाही गर्न सम्बन्धित निकायलाई आदेश दिँदै सुशासनका पक्षमा होमिएको बताउँदै उहाँले यसबाट डराएर सरकार ढालिएको उहाँले दोहोर्याउनुभयो ।
मैले कसैलाई कारबाहीको डन्डा लगाएको छैन
यसका साथै उहाँले आफूले पार्टीमा आजसम्म हैकमवाद नलगाएको दाबी गर्नुभयो । ‘धेरै नेताहरू स्वइच्छाले पार्टी छाडेर जानुभयो–आफ्नो विवेकले पार्टी छोडेर जानेलाई पार्टी नेतृत्वले के गर्न सक्छ र ? उहाँले भन्नुभयो–तर मैले कुनै पनि नेतामाथि कारबाहीको डन्डा चलाएको छैन ।’ केही नेताहरू आन्दोलनबाट अलग भए पनि जनता भने विचारप्रति प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।