Kakhara सबैको खबर सम्पूर्ण खबर
दुर्घटनामा ज्यान गुमाएका बाँफिकोटका ४ मृतकका परिवारलाई १२ लाख सहयोग 

गत असोज १२ गते सल्यानको कपुरकोट गाउँपालिका ३ मा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका बाँफिकोटका ४ परिवारलाई आर्थिक सहयोग गरिएको छ । अमेरिका र मलेसियाबाट सङ्कलन भएको १२ लाख २८ हजार रुपैयाँ ४ जना मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो । 

अमेरिकामा रहनुभएका ओपेन्द्र देवकोटा र तिलक केसीको पहलमा उक्त सहयोग सङ्कलन गरिएको थियो । मलेसियाबाट १ लाख ९१ हजार १ सय १० रुपैयाँ सहयोग सङ्कलन भएको थियो भने बाँकी रकम अमेरिकाबाट सङ्कलन गरेर नेपाल पठाइएको थियो । पीडित परिवारको मै गएर ओपेन्द्रकी आमाले ४ जना मृतकका परिवारलाई सहयोग हस्तान्तरण गर्नुभएको हो । 

सङ्कलित रकम सबै परिवारलाई बराबरी हुने गरी वितरण गरिएको बताइएको छ । सहयोग पाएपछि पीडित परिवारले सहयोगहरूलाई धन्यवाद दिएका छन् । पीडाको बेलामा ठुलो सहयोग प्राप्त भएको र सहयोग रकम सदुपयोग गर्ने पीडित परिवारको भनाई थियो । बाल बच्चालाई समस्या नहोस् भनेर दिएको पैसा दुरुपयोग नगर्ने उनीहरूले बताएका थिए । 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाबाट दाङ तर्फ गइरहेको फोर्स गाडी कपुरकोट गाउँपालिका ३ चोरखोलामा सडकबाट खस्दा बाँफिकोट गाउँपालिका ५ का २७ वर्षीय प्रकाश केसी, सोही ठाउँकी ६८ बर्सिया पवि केसी र अन्दाजी २७ वर्षीय शशीधर केसीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते २७ बर्सिया निशा केसीको उपचारको क्रममा असोज १६ गते भारतको लखनउमा मृत्यु भएको थियो । 

उक्त दुर्घटनामा निशाका दाइ ठगेन्द्र केसी गम्भीर घाइते हुनुभएको थियो । उक्त दुर्घटनामा ज्यान गुमाउने पवि, निशा र शसीधर एकै परिवारका हुन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update