Kakhara सबैको खबर सम्पूर्ण खबर
विचारमा फरक किन पर्छ ?

हिजोआजका बच्चाहरू मोबाइल वा कम्प्युटरमा मात्र घोत्लिएर समय बिताइरहेका छन् । यसले उनीहरूको सक्रियतामा गम्भीर असर पारेको हुन्छ । बाह्य दुनियाँसँग अलग भइदिँदा उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य दुबैमा हानि पुर्‍याइरहेको हुनसक्छ । सामान्य परिवारको बच्चा होस् कि सम्पन्न परिवारको बच्चा यो समस्या जताततै देखिन्छ ।

यो देखेर हाम्रो समाजमा 'के तालका केटाकेटी हुन् यस्ता  !' भन्दै जिब्रो नटोक्ने पुरानो पुस्ताको कोही भेटिँदैन । तर हामीलाई यो थाहा छैन कि हाम्रो परिवर्तित व्यवहार देखेर हामीभन्दा अघिल्लो पुस्ताले यस्तै कुरा भनेर जिब्रा टोक्ने गरेका थिए । पुस्तान्तरण हुँदा मानिसको व्यवहारमा पनि अन्तर आउनु स्वाभाविकै हो । तर त्यो व्यवहार सही हो कि होइन भन्ने छुट्याएर सही व्यवहारतिर निर्देशित गर्ने जिम्मेवारी अभिभावकको नै हो ।

बदलिँदो समयसँगै समाज पनि परिवर्तन हुन्छ। समयसँगै मानिसहरू पनि रूपान्तरित हुन्छन्। मानिसहरू रुपान्तरित हुँदा उनीहरूको क्रियाकलाप पनि रुपान्तरित हुन्छ । यही रूपान्तरणको चक्रभित्र पर्छ— पुस्तान्तरण । कसैले स्वीकारे पनि नस्वीकारे पनि एक पुस्ताबाट अर्को पुस्तामा सत्ताको, संस्कृतिको, सोचको र शैलीको हस्तान्तरण भई नै रहन्छ । एक पुस्ताको उत्तराधिकारी अर्कै स्वरूपमा तयार भइरहेको हुन्छ । तर यो शारीरिक र जैविक उत्तराधिकार मात्र होइन; यहाँ विचारको उत्तराधिकार पनि परिवर्तन हुने गर्दछ । विचारै परिवर्तन नहुने हो भने पुस्ता फेरिएर पनि समाज स्थगित हुने खतरा रहन्छ। त्यसैले पुस्तान्तरणमा विचारान्तरण हुनु अपरिहार्य हुन्छ।

पुस्ता के हो ?
सामान्यतया २५ वर्षको अन्तरमा जन्मिएका मान्छेहरूको समूहलाई हामी पुस्ता भन्ने गर्दछौँ । यो अवधि केही बढी वा कम पनि हुनसक्छ । पछिल्लो समयमा पुस्तालाई जन्म वर्षको आधारमा वर्गीकृत गरिएको छ । जस्तैः Silent Generation, Baby Boomers, Generation X, Millennials (Gen Y), Generation Z, र हालको Generation Alpha।

Gen Alpha के हो ?
सन् २०१३ देखि २०२५ बिचमा जन्मिएको नयाँ पुस्तालाई Gen Alpha नामाकरण गरिएको छ । यो पुस्ता अत्याधुनिक पुस्ता हो । विज्ञान र प्रविधिको अहिलेसम्मकै चरम विकास देख्न पाउने पुस्ता हो यो । ल्याटिन शब्दमा  A लाई अल्फा भन्ने गरिन्छ । यसभन्दा अघिल्लो पुस्ताका नामाकरणहरू X बाट सुरू भएर Z सम्म पुगिसकेकोले आधुनिक पुस्तालाई Gen Alpha नामाकरण गरिएको हो । बीसौं शताब्दीको मध्यदेखिको पुस्ताहरूलाई विश्वमा भएका प्रमुख घटना र सामाजिक, आर्थिक र प्रविधिगत परिवर्तनका आधारमा यस्ता नामहरू दिइएको हो । जस्तैः प्रमुख विश्वयुद्धहरू, TV, Internet, Smartphones जस्ता प्रविधिको विकास; सांस्कृतिक र राजनीतिक आन्दोलनहरू; मन्दी (Depression) सङ्कटकाल (Recession) र चरम विकास (Boom) जस्ता विश्व आर्थिक अवस्था आदि । यी नामहरू समाजशास्त्री, संस्कृतिकर्मी र मिडिया हाउसहरूले दिएका हुन् । तर कुनै सरकारी तवरबाट दिइएको नामचाँहि होइन। यस पुस्ताभन्दा अघिल्ला पुस्ताहरूको अवधि र विशेषता बारेमा जानकारी भएमा Gen Alpha बारेमा स्पष्ट हुन सकिन्छ ।

यसभन्दा अघिल्ला पुस्ताहरूको नामाकरण के के गरिएको थियो त ?

पुस्ताको नाम

जन्मिएको अवधि (ई.सं.मा)

पुस्ताको मुख्य विशेषता

The Lost Generation

1883–1900

प्रथम विश्वयुद्धमा लड्ने अमेरिकी युवा

The Greatest Generation

1901–1927

दोस्रो विश्वयुद्ध लड्ने, त्याग र साहसका प्रतीक योद्धा

The Silent Generation

1928–1945

युद्धपछिको शान्त र मिहिनेती पुस्ता

Baby Boomers (Gen BB)

1946–1964

जनसंख्या वृद्धि, आर्थिक समृद्धि र सामाजिक विद्रोहकालीन पुस्ता

Generation X (Gen X)

1965–1980

नयाँ प्रविधिको आविष्कार, टिभी–कम्प्युटर पुस्ता, स्वतन्त्रता खोजी गर्ने पुस्ता

Millennials (Gen Y)

1981–1996

इन्टरनेट युगको पहिलो पुस्ता, शिक्षा, रोजगार र उद्देश्य केन्द्रित

Generation Z (Gen Z)

1997–2012

डिजिटल जन्म, सामाजिक सञ्जालमा हुर्किएको, विविधता र समावेशिता खोजी गर्ने पुस्ता

Generation Alpha (Gen A)

2013–2025

स्मार्टफोन युगका बालबालिका, AI AR–VR प्रविधिसँग परिचित पुस्ता

 

नेपालको सन्दर्भमा पछिल्ला पुस्ताहरू
नेपालमा यस्ता नामहरू सर्वसाधारणबिच त्यति परिचित भइसकेका छैनन् । तथापि हाम्रै देशको ऐतिहासिक कालखण्डअनुसार पुस्तालाई वर्गीकरण गर्न सक्छौँ । जस्तै:

पुस्ताको नाम

जन्मिएको अवधि (वि.सं.मा)

पुस्ताको मुख्य विशेषता

The Lost Generation

१९४०१९५७

राजनीतिक तथा आर्थिक अधिकारच्युत भएको पुस्ता

The Greatest Generation

१९५८१९८४

भाषा र साहित्यको विकासको सुरुवात भएको पुस्ता

The Silent Generation

१९८०२००६

राजनीतिक जागरणयुक्त पुस्ता

Baby Boomers (Gen BB)

२००७२०१६

आर्थिक विकास र कानुनी शासनको संरचनागत आधारशीला स्थापनारत पुस्ता

Generation X (Gen X)

२०१७२०३८

वैदेशिक लगानीको सुरुवात, राजनैतिक अधिकारको खोजी गर्ने पुस्ता

Millennials (Gen Y)

२०३९२०५३

नयाँ प्रविधि, टिभी–कम्प्युटरमा पहुँच हुन थालेको आर्थिक समृद्धिकालीन पुस्ता

Generation Z (Gen Z)

२०५४२०६७

इन्टरनेट युगको पहिलो पुस्ता, शिक्षा, रोजगार र उद्देश्य केन्द्रित । जनयुद्धबाट प्रभावित पुस्ता

Generation Alpha (Gen A)

२०६८२०८२

सामाजिक सञ्जालमा हुर्किएको, गणतन्त्रकालीन, विविधता र समावेशिता खोजी AI AR–VR प्रविधिसँग परिचित स्मार्टफोन युगको पुस्ता

यी पुस्ताहरू फरक-फरक समयमा जन्मिएकाले तिनको सामाजिक, राजनीतिक, आर्थिक, र प्रविधिसँगको सम्बन्ध पनि फरक-फरक हुन्छ। उनीहरूको व्यवहार पनि फरक फरक हुन्छ । उनीहरूको सोच्ने तरिका पनि यसरी नै फरक पर्ने गर्दछ । पुस्तान्तरणसँग विचारान्तरण पनि हुँदै जान्छ ।

विचारान्तरण भनेको के हो ?
विचारमा देखिने अन्तर नै विचारान्तरण हो । अर्थात् एक पुस्तामा रहेको सोच, दृष्टिकोण, विश्वास र व्यवहारशैलीको क्रमशः रूपान्तरण वा प्रतिस्थापन वा विस्थापन नै विचारान्तरण हो । यसमा परम्परागत सोचको पुनर्मूल्याङ्कन, नयाँ सोचको स्थापना र भविष्योन्मुख दृष्टिकोणको विकास हुन्छ।

उदाहरणस्वरूप, पहिलेका पुस्तामा जातपातको कडाइ थियो; आजका पुस्ताले त्यही सोचलाई पुनरावलोकन गर्दै समावेशी दृष्टिकोण अपनाउँदै छन्। त्यसैले पुस्तान्तरणसँगै विचारान्तरण नहुँदो हो त परिवर्तन र भविष्य निरर्थक हुने थियो ।

किन हुन्छ पुस्तान्तरण ?
समय आफै गतिशील तथा परिवर्तनशील छ । समयको गतिसँगै प्रविधि, सञ्जाल, शिक्षा र जीवनशैलीमा परिवर्तन भइरहन्छ । यी कुराहरूको साथसाथै परिस्थिति र प्रविधिमा पनि परिवर्तन हुनु स्वाभाविकै हो । गतिशील परिवर्तनका कारणले पुरानो पुस्ताको तुलनामा नयाँ पुस्ताले सहज रूपमा सूचना प्राप्त गर्ने हुँदा उनीहरूको विचार व्यापक र खुला हुँदै जान्छ ।

प्रविधिले गर्दा विश्वका परम्परागत सीमाहरू समाप्त भएर विश्वव्यापीकरण हुँदै छ । संसार नै खुम्चिएर एउटा सानो टोल बनिसकेको छ । सेकेन्डमै हामी विश्वका जुनसुकै कुनाका व्यक्तिहरूसँग कुरा गर्न सक्छौँ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रियाकलापमा घरबाटै सहभागी हुन सक्छौँ । अब कुनै पनि देश पनि अर्को देशबाट अलग छैन । कुनै पनि समाज पृथक छैन । सांस्कृतिक र वैचारिक आदान–प्रदान तीव्र रुपमा भइरहेको छ ।

अहिले एउटा देशको राजनैतिक परिवर्तनलाई अर्को देशलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने गर्दछ । लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानताका कुराहरू हिजोको भन्दा आज बलशाली हुँदै गएका हुन्छन् । यस्ता विचारहरू नयाँ पुस्ताले सजिलै आत्मसात गर्नसक्छ ।

विकासका नयाँ नयाँ मोडेलसँगै पर्यावरणीय र नैतिक सचेतता पनि बढ्दै गएको छ ।  नयाँ पुस्ताले मौसमी परिवर्तनको प्रभाव, वातावरणीय संरक्षण, मानसिक स्वास्थ्य, डिजिटल अधिकार आदि विषयमा चासोको साथ परिवर्तित दृष्टिकोण बनाउने गर्दछन्

कुन क्षेत्रमा कस्तो प्रकारको विचारान्तरण हुन्छ त ?

विचारान्तरणको क्षेत्र

परम्परागत सोच

नयाँ सोच

शिक्षा

कण्ठस्थ गर्नुपर्ने

सिर्जनात्मक, खोजमा अधारित

धर्म

प्रचलनमुखी, अन्धश्रद्धा

विवेकमा आधारित आस्था

राजनीति

नेतामुखी

जवाफदेहितामुखी, प्रणालीमुखी

आर्थिक उपार्जन

जागिरमुखी

उद्यमशीलता र स्टार्टअपमुखी

लैङ्गिकता

पुरुषप्रधान

समलैङ्गिकता

प्रविधि उपयोग

परम्परागत, छापामुखी

डिजिटलमुखी, स्वतन्त्र

विचारान्तरणका चुनौतीहरू
पुराना पुस्ताले नयाँ पुस्तालाई बुझ्दैनन् । उनीहरूले आफैले गरेजस्तो नयाँ पुस्ताले गरून् भन्ने चाहन्छन् । आफ्नो विचार नै सही मान्छन्, परम्परागत विचार त्याग्न सक्तैनन् । नयाँ पुस्ताले पनि पुरानो पुस्तालाई बुझ्दैनन् । नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मानको सट्टा अपहेलना गर्छन्।

नयाँ पुस्ताले पुराना पुस्ताको मूल्यलाई महत्त्व दिँदैनन् । पुरानो पुस्ताले नयाँ पुस्ता नैतिक रूपमा पतन भएको देख्दछन् । यसरी पुरानो पुस्ता र नयाँ पुस्ताबिच मूल्य र नैतिकताको सवालमा द्वन्द्वको स्थिति पैदा हुन सक्दछ ।

नयाँ युगको लागि नयाँ पुस्ता नै सर्वेसर्वा राजा हो । तर संक्रमणकालीन अवस्थामा पुस्ता—पुस्ताबिच असमझदारी कायम रहन्छ । न पुरानो सोच पूर्ण रूपमा हट्दछ, न नयाँ सोच तुरुन्तै स्थापित हुनसक्छ । 

विचारान्तरणको सकारात्मक पक्ष
समाज आवश्यकताबमोजिम नवीकरण भइरहन्छ । समय परिवर्तन र समाजको विकासले गर्दा नयाँ नयाँ सम्भावनाहरू उजागर हुन्छन् । सिर्जनशीलता जन्मिन्छ। समाजको ढाँचा समावेशी, समानतामूलक र विवेकपूर्ण बन्ने आधार तयार हुन्छ। समाजमा जरा गाडेर बसेका अन्धविश्वास, कुरीति र गलत परम्परा विस्थापित हुँदै जान्छन् । विवेकपूर्ण र विश्वासपूर्ण रीतिरिवाज स्थापित हुँदै जान्छन् ।

पछिल्लो पुस्ताले देशमा शान्ति र आर्थिक समृद्धिको लागि कसरी भूमिका खेल्न सक्छन् ?
पछिल्लो पुस्तालाई सही दिशा निर्देशन गर्ने दायित्व राज्य, अभिभावक, शिक्षक र समाजको उत्तिकै रहन्छ । यदि पछिल्लो पुस्तालाई सही मूल्य, विचार र दिगो नेतृत्वको दिशामा लैजान सके उनीहरू युद्धको सट्टा संवादमा विश्वास गर्ने, आश्रितको सट्टा उत्पादनशील सोच राख्ने र विभाजन होइन, सहकार्यको संस्कृति बसाल्ने समृद्ध राष्ट्रका सच्चा निर्माता बन्न सक्छन् ।

  • डिजिटल ज्ञानले युवाहरूलाई नयाँ–नयाँ स्टार्टअप गर्न हौसला दिन्छ। Freelancing, remote work, app development, e-commerce आदि माध्यमबाट रोजगारी आफैं सिर्जना गर्ने सम्भावना बढ्छ ।
  • सूचनाको सागरमा हुर्कने भएकाले यिनीहरूले फेक समाचार, अफवाह, हिंसात्मक सोचबाट सजग हुने क्षमता राख्छन्।विवेकपूर्ण निर्णय लिने परिपक्वता विकसित हुन्छ, जसले अशान्ति र भ्रम फैलिनबाट रोक्न सक्छ ।
  • कृषिमा, स्वास्थ्यमा, शिक्षामा AI, Robotics, AR/VR, Blockchain, Green Tech जस्ता प्रविधिहरूको प्रयोग गरी राष्ट्रलाई सेवा पुर्‍याउन सक्छन् । गाउँगाउँमा प्रविधिको पहुँच पुर्‍याई सामाजिक विभाजन घटाउन सक्छन् ।
  • विविध भाषा, जाति, धर्म र संस्कृति सँग साक्षात्कार बाल्यकालदेखि नै हुने भएकाले सहिष्णुता बढी हुन्छ । बहस, संवाद, विचार आदानप्रदानबाट मतभेदलाई द्वन्द्व होइन, समझदारीको माध्यम बनाउने सोच विकास गर्न सक्छन् ।
  • जलवायु परिवर्तन, वन संरक्षण, दिगो ऊर्जा जस्ता मुद्दामा बाल्यकालदेखि नै संवेदनशील हुने भएकाले भविष्यमा हरित अर्थतन्त्र को पक्षमा रहन्छन् ।
  • ईगभर्नेन्स, ब्लकचेन, डिजिटल लोकतन्त्र जस्ता प्रणालीमा बढी सक्रिय भइ सरकारलाई पारदर्शी र जवाफदेही बनाउन जनदबाब सिर्जना गर्न सक्छन् ।
  • आजको पुस्ता भोलिको नीतिनिर्माता होल। यस पुस्तामा वैज्ञानिक सोच, प्राविधिक दक्षता र सहअस्तित्वको भावना रहेको हुन्छ । यस पुस्ताबाट राजनीति, शिक्षा, अर्थतन्त्र सबै क्षेत्रमा नवप्रवर्तन गर्न सकिने सम्भावना छ ।

निष्कर्ष
पुस्तान्तरण अपरिहार्य शारीरिक प्रक्रिया हो । विचारान्तरण भने बौद्धिक यात्रा हो । एक पुस्ताले अर्को पुस्तालाई नबुझ्ने र अनावश्यक ठान्ने परम्पराले नै पुस्ता पुस्ताबिच द्वन्द्व सिर्जना हुने हो । पुराना पुस्ताले गरेका कामहरू सोह्रैआना गलत र नयाँ पुस्ताले गरेका कामहरू सोह्रै आना सही भन्ने हुँदैन । पुस्तान्तरण हुनेबित्तिकै सोच परिवर्तन गर्नुपर्छ भन्ने पनि होइन । समाज एउटा प्रयोगशालाजस्तै हो । समाजमा परीक्षण भएका सकारात्मक कुराहरूले प्रश्रय पाउनुपर्छ । सबैको विचारको मूल्याङ्कन हुनुपर्छ । समाजलाई गतिशील तुल्याउने विचारहरूको संशोधन र नवीकरण गर्दै जाँदा मात्र पुस्तान्तरण सफल हुन्छ । पुस्तान्तरणको साक्षी पनि हामी नै हौँ । विचारान्तरणका वाहक पनि हामी नै हौँ । परिवर्तन समयले ल्याउने भए तापनि विवेकपूर्ण विचारको सर्जक मानिस नै हो । पुस्तान्तरणसँगै विचारान्तरण भयो भने मात्र समाज समुन्नत, सजीव र स्थायी बन्न सक्छ । हाम्रा राजनेताहरूले पनि यो कुरालाई हृदयङ्गम गरी आफ्ना दलका नीति तथा कार्यक्रमहरू बनाई कार्यान्वयन गर्न सके देशमा राजनीतिक स्थिरता, स्थायी शान्ति र आर्थिक समृद्धि हाँसिल गर्न सकिन्थ्यो कि ?

 

प्रकाशित मिति: सोमबार, जेठ १३, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update