-1749634880.jpeg)
रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम सम्बन्धी छलफल तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आज कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन वातावरण मन्त्रालयको आयोजनामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम सम्बन्धी छलफल तथा अभिमुखिकरण कार्यक्रम भएको हो । अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्नेमा जोड दिएका थिए ।
वैदेशिक रोजगारीलाई व्यवस्थित तथा सुरक्षित बनाउन सरकार एक्लैको प्रयास सम्भव नहुने भएकाले आम नागरिक पनि सचेत हुनुपर्नेमा सहभागिहरुको जोड थियो । सकेसम्म स्वदेशमै रोजगारी गर्ने रोजगारीको लागि जाने नै भए सहि सूचना लिएर तथा सिप सिकेर वैदेशिक यात्रामा जानुपर्नेमा सवै सचेत हुनुपर्ने सहभागिहरुको भनाई थियो ।
अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले सहभागिहरुलाई वैदेशिक रोजगारका क्षेत्रमाा देखिएका समस्या, समस्या देखिएमा सामाधानका उपाय लगायतका विषयमा प्रष्ट पार्नुभएको थियो । त्यस्तै वैदेशिक रोजगार सम्बन्धी विद्यमान कानूनी व्यवस्था, वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, वैदेशिक रोजगारमा हुने ठगी, सुरक्षित आप्रवासन(सामी) कार्यक्रम कार्यान्वयन गर्ने काम, कर्तब्य र जिम्मेवारी, वैदेशिक रोजगारको क्रममा ठगिएमा जाहेरीसाथ संलग्न गर्नुपर्ने प्रमाण लगायतका बारेमा जानकारी बनाउनुभएको थियो ।
वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउने मुख्य जिम्मेवारी सरकारको रहेकाले सरकार यसमा जिम्मेवार भएर लाग्नुपर्ने प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विकले बताउनुभयो । वैदेशिक रोजगारमा जाँँदा आम नागरिक सचेत हुनुपर्ने भएपनि वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउने मुख्य जिम्मेवारी भने सरकारको हुनुपर्ने उहाँले बताउनुभयो । यसमा आम नागरिक सवैको सहयाेग आवश्यक पर्ने प्रमख अतिथि विकले बताउनुभयो ।
सुरक्षित आप्रवासन कार्यक्रम रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा लागु भएको र आगामि आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाका अन्य तीन स्थानीय तह चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिकामा लागु हुने उद्योग, पर्यटन, वन वातावारण मन्त्रालय कर्णाली प्रदेशका उपसचिव खिमानन्द अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको मुख्य उदेश्य वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित गर्नु रहेको छ । रुकुम पश्चिमका छुटेका २ स्थानीय तह सानीभेरी र त्रिवेणी गाउँपालिकालाई पनि आगामि आर्थिक वर्षमा कार्यक्रम लागु गरिने उहाँले बताउनुभयो ।
सुरक्षित वैदेशिक आप्रवासन कार्यक्रम लागु भएसँगै स्थानीय तहबाटै नागरिकहरुले वैदेशिक रोजगार सम्बन्धी जानकारी प्राप्त गर्नेछन् । सुरक्षित वैदेशिक आप्रवासनको लागि सहज होस भनेर जिल्ला प्रशासनमा रहेने गरी फोकल प्रर्शन व्यक्ती तोकेर काम गरिने समेत उपसचिव अर्यालले बताउनुभयाे ।
सुरक्षित आप्रवासन(सामी) कार्यक्रम सम्बन्धी छलफल तथा अभिमुखिकरण कार्यक्रम जिल्ला समन्वय समिति उप प्रमुख देवबहादुर विक, मुसिकोट नगर प्रमुख महेन्द्र केसी, उप प्रमुख विमलकुमार पुन, चौरजहारी नगर प्रमुख पुष्प वादी, सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोकाको उपस्थिती रहको थियो । त्यस्तै बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, जिल्ला समन्वय अधिकारी पुण्यप्रसाद भट्राई, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी प्रमेश विष्ट, सशस्त्र प्रहरी प्रमुख मदन धानुक, राष्ट्रिय अनुसन्धान अधिकृत चिरणजिवि बुढा, पालिकामा रोजगार संयोजक लगायत अन्य कार्यालयका प्रमुख, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।