Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीको २१ औँ नगर सभाको अवसरमा २२ व्यक्ति र तीन संस्था सम्मानित 

रुकुम पश्चिमका २१ औँ नगर सभाको अवसरमा विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्ति तथा संस्था सम्मानित भएका छन् । नगर सभाको दोस्रो बैठकबाट सोमबार कर्मचारी, शिक्षक, विद्यार्थी, नगर प्रहरी, कृषक, पत्रकार, जनप्रतिनिधि लगायत गरी २२ व्यक्ति र तीन संस्था सम्मानित भएका हुन् । 

विभिन्न क्षेत्रबाट समृद्ध नगरको सोच पूरा गर्न योगदान गर्ने व्यक्ति तथा संस्थाहरूलाई नगर सभाको अवसरमा सम्मान गरिएको नगर प्रमुख पुष्प वादीले जानकारी दिनुभयो । हरेक वर्ष विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत यो वर्ष पनि सम्मान कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो । 

सम्मानित हुनेमा उत्कृष्ट वडाध्यक्षका रूपमा वडा नम्बर ४ का अध्यक्ष गोपालबहादुर भण्डारी, उत्कृष्ट जनप्रतिनिधिका रूपमा वडा नम्बर ११ का वडा सदस्य केवल ओली, उत्कृष्ट विद्यार्थीका रूपमा कक्षा ८ मा उत्कृष्ट अंक प्राप्त गर्ने हिमालय मावि खोलागाउँका केशव ओली, उत्कृष्ट छात्राका रूपमा हिमालय मावि खोलागाउँकी वर्षा शर्मा, कक्षा ५ को परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र तर्फ भ्याली पब्लिक हाइस्कुलका सम्मान आचार्य र छात्रा तर्फ सरस्वती एडभान्स बोर्डिङ स्कुलकी सुस्मिता गिरी सम्मानित हुनुभएको छ । 

उत्कृष्ट प्रधानाध्यापक पुरस्कार कालिका आधारभूत विद्यालय लयाँटाका प्रअ लालबहादुर घर्ती, उत्कृष्ट नगर शिक्षक पुरस्कार आधारभूत विद्यालय नाखिराका निमेन्द्र भण्डारी, उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कार शहिदस्मृति नगर अस्पतालका डा. विवेक केसी, उत्कृष्ट शाखा प्रमुख पुरस्कार पूर्वाधार विकास शाखाका भीमबहादुर केसी, उत्कृष्ट वडा सचिव पुरस्कार वडा नम्बर ७ का सचिव कमल खड्का र उत्कृष्ट कर्मचारी पुरस्कार रोजगार सेवा केन्द्रका प्रवीण थापालाई प्रदान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी गराउनुभयो । 

उहाँका अनुसार उत्कृष्ट नगर प्रहरीका रूपमा नगर प्रहरी व्यवस्थापन उपशाखाका सरोज बिसी, उत्कृष्ट सवारी चालकका रूपमा कमल विक, उत्कृष्ट कार्यालय सहयोगीका रूपमा अमृता आचार्य, उत्कृष्ट पशु पालक कृषकका रूपमा चौरजहारी १० का ललित विक, उत्कृष्ट तरकारी उत्पादक कृषकका रूपमा वडा नम्बर ३ का तिलकबहादुर मल्ल, उत्कृष्ट कृषकका रूपमा वडा नम्बर ४ की मुना भण्डारी, उत्कृष्ट पत्रकारका रूपमा कखरा डटकमका सम्पादक मनिष खड्का, उत्कृष्ट प्राविधिक पत्रकारका रूपमा रेडियो चौरजहारी एफ.एम.का राजेन्द्र बिक तथा सेवा निवृत्त शिक्षकहरू मोहम्मद सकिम र नरेन्द्रकुमार चन्दलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो । 

त्यस्तै इलाका प्रहरी कार्यालय चौरजहारी, मानव विकास तथा सामुदायिक सेवा चौरजहारी र नगर प्रहरी व्यवस्थापन उपशाखा चौरजहारी गरी ३ वटा संस्था पनि नगर सभाको अवसरमा सम्मानित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । 

1000043535-1750699005.jpg

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update