
रुकुम पश्चिमका सरोकारवालाहरूले गुणस्तरीय र विश्वसनीय आर्थिक गणनामा जोड दिएका छन् । तथ्याङ्क समन्वय कार्यालय सुर्खेतको आयोजनामा मुसिकोट खलङ्गामा आयोजित आर्थिक गणनाको तथ्याङ्क आवश्यकता विषयक सरोकारवालासँगको अन्तरक्रिया गोष्ठीका सहभागीहरूले विश्वसनीय गणनामा जोड दिएका हुन् ।
राष्ट्रिय जनगणना देखि अन्य गणनाहरू विश्वसनीय भएनन् भन्ने गुनासोहरू आइरहेको र तथ्याङ्कहरू धरातलसँग मेल नखाने अवस्था रहेको भन्दै सरोकारवालाहरूले अब हुने आर्थिक गणना विश्वसनीय हुनुपर्नेमा जोड दिएका छन् ।
आर्थिक गणना २०८२ लाई विश्वसनीय र त्रुटिरहित बनाउन सरोकारवालाहरूसँग अन्तरक्रिया गरी सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको तथ्याङ्क समन्वय कार्यालय सुर्खेतका प्रमुख तथ्याङ्क समन्वय अधिकारी विनोद आचार्यले जानकारी दिनुभयो ।
गणनामा त्रुटि भए त्यसले धेरै क्षेत्रमा दीर्घकालीन असर पार्ने भएकोले त्रुटि रहित गणना हुनुपर्ने र त्यसमा सरोकारवाला सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । हालसम्म भएका गणना भन्दा अब हुन लागेको दाेस्राे आर्थिक गणना विश्वसनीय र त्रुटि रहित बनाउन सहयोग गर्न उहाँले जिल्लास्थित सबै सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।
आफूले दिएको विवरण दुरुपयोग हुने हो कि, आफू समस्यामा परिने हो की, सही आम्दानी बारे बताए बढी कर तिर्नुपर्ने हो की भन्ने लगायतका भ्रमले आर्थिक गणनामा सही विवरण सङ्कलन गर्न चुनौती रहेको उहाँले बताउनुभयो ।
व्यवसायी तथा व्यापारीको सम्पूर्ण विवरण गोप्य रहने र उक्त कारणले कुनै पनि समस्या नहुने बरु अनुकूलित नीति, नियम बनाउन सहयोग पुग्ने भएकोले अबको गणनामा सही विवरण उपलब्ध गराउन उहाँले सबै व्यापारी तथा व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा आर्थिक गणना के हो ? यसको महत्त्व, कहिले र कसरी सञ्चालन हुन्छ, रुकुम पश्चिममा सञ्चालित प्रतिष्ठान कति छन् भन्ने लगायतका बारेमा तथ्याङ्क समन्वय अधिकारी आचार्यले जानकारी गराउनुभएको थियो ।
२०७५ मा भएकाे पहिलाे आर्थिक गणना अनुसार रुकुम पश्चिममा कुल ३ हजार ९ सय ९४ वटा प्रतिष्ठान रहेका छन् भने यी प्रतिष्ठानमा १० हजार १ सय ८० जना जनशक्ति कार्यरत रहेको उहाँले बताउनुभयो । यो ५ वर्ष अघिको तथ्याङ्क भएकोले अहिले प्रतिष्ठान र जनशक्ति समेत बढेको हुनसक्ने भन्दै सही तथ्याङ्क अव हुने दाेस्राे आर्थिक गणनाले देखाउने उहाँको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले आगामी आर्थिक गणनालाई रुकुम पश्चिममा प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले सम्पूर्ण व्यापारी, व्यवसायीहरूलाई सही विवरण उपलब्ध गराउन अनुरोध गर्दै राज्यका तर्फबाट पनि सही गणनाका लागि जोडबल हुनुपर्नेमा जोड दिनुभयो ।
आर्थिक गणना ५ वर्षमा हुनुपर्ने भए पनि यो पटक भने विशेष कारणवश २ वर्ष ढिलो गरी हुन लागेको तथ्याङ्क समन्वय कार्यालय सुर्खेतका तथ्याङ्क अधिकृत केशरबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक गणनामा सम्पूर्ण व्यापार व्यवसाय जोडिन्छन् ।
साना खुद्रा पसल देखि ठुला उद्योग कलकारखाना, निजी अस्पताल, नीति विद्यालय लगायत यसमा समेटिने उहाँको भनाई छ । आर्थिक गणनाका बारेमा चेतना अभाव पनि चुनौतीको रूपमा रहेको र त्यसैका लागि यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
तथ्याङ्क समन्वय कार्यालय सुर्खेतका तथ्याङ्क समन्वय अधिकारी विनोद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रुकुम पश्चिमका उद्योगी, व्यापारी, व्यवसायी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । तथ्याङ्क अधिकृत केशरबहादुर ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सुपरिवेक्षक जनकबहादुर बोहराले गर्नुभएको थियो ।