
रुकुम पश्चिममा यातायात भाडा दर बढेको छ । २०७८ सालमा कायम भएको भाडा दर लागु भइरहेकामा जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भाडा दर बढाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीको संयोजकत्वमा गठित भाडा दर निर्धारण कार्यदलले प्रति वर्ष १० प्रतिशत नबढ्ने गरी भाडा दर बढाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई आजको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले अनुमोदन गरेको हो ।
नयाँ भाडा दर साउन १ गतेबाट कार्यान्वयनमा आउने सहायक प्रमुख जिल्ला अधिकारी तथा भाडा दर निर्धारण कार्यदलका संयोजक रेग्मीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा भएका सडकलाई क, ख र ग गरी तीन वर्गमा विभाजन गरिएको छ भने सोही अनुसार भाडा दर कायम गरिएको छ ।
अब क वर्गको सडक अर्थात् कालोपत्रे भएको सडकमा बसका लागि प्रति किलोमिटर ५ रुपैयाँ ९८ पैसा र जिपका लाग प्रतिकिलोमिटर ७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । यो वर्गमा हालसम्म बसका लागि प्रति किलोमिटर ४ रुपैयाँ ५ पैसा र जिपका लागि प्रतिकिलोमिटर ५ रुपैयाँ ५ पैसा भाडा कायम थियो ।
त्यस्तै ख वर्ग अर्थात् ग्राभेल गरिएको बाटोमा अब बसका लागि प्रतिकिलोमिटर ९ रुपैयाँ १९ पैसा र जिपका लागि प्रति किलोमिटर १० रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यो वर्गका सडकमा हालसम्म भाडा दर बसका लागि प्रति किलोमिटर ७ रुपैयाँ ५ पैसा तथा जिपका लागि ८ रुपैयाँ ५ पैसा थियो । ग वर्गका लागि साउन १ गते देखि बसमा प्रतिकिलोमिटर ११ रुपैयाँ र जिपमा १२ रुपैयाँ ६४ पैसा भाडा लाग्ने छ ।
हालसम्म यो वर्गमा पर्ने सडकमा भने भाडा दर तोकिएको थिएन । यसै गरी अटोको भाडा भने स्थानीय तह आफैले तोक्ने निर्णय भएको जिल्ला यातायात व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो । सीमा क्षेत्रमा चल्ने अटो तथा ट्याक्सीको भाडा दर पनि सम्बन्धित पालिकाहरूले आपसी समझदारीमा तोक्ने निर्णय भएको उहाँले बताउनुभयो ।
परिमार्जित भाडा दर साउन १ गतेबाट लागु हुने र उक्त भाडा दर सवारी साधनमा देखिने गरी टाँस्नुपर्ने उहाँले बताउनुभयो । हालसम्म यातायात व्यवसायीले तोकिएको भाडा दर भन्दा मनोमानी ढङ्गले भाडा लिने गरेको गुनासो व्यापक छ । जसका कारण नयाँ भाडा दर पनि सही रूपमा कायम हुनेमा आशङ्का व्यक्त गरिएको छ ।
हेर्नुहाेस कुन ठाउँकाे कति भाडा: