Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा एक वर्षमा झन्डै तीन हजार अप्रेसन 
फाइल फाेटाे ।

रुकुम पश्चिममा बितेको आर्थिक वर्ष २०८१/०८२ मा झन्डै तीन हजार वटा अप्रेसन भएका छन् । वर्षभरिमा जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा २ हजार ८ सय ८७ वटा अप्रेसन भएका हुन् । जसमा मेजर र माइनर अप्रेसन रहेका छन् । 

केही वर्ष अघिसम्म सामान्य अप्रेसन गर्न पनि जिल्ला बाहिर जानुपर्ने बिरामीलाई हाल भने धेरै हदसम्म जिल्लामै सहज भएको छ । प्रसूति, हाड जोर्नी लगायतका अप्रेसनका लागि बाहिर जानुपर्ने बाध्यतामा कमी आएको छ । विशेष गरी जिल्ला अस्पताल र चौरजहारी अस्पतालले विभिन्न अप्रेसन सेवाहरू प्रवाह गरिरहेका छन् ।

एक वर्षकाे अवधिमा जिल्लामै ९ सय ८२ वटा मेजर अर्थात् जटिल अप्रेसन भएका छन् । जिल्ला अस्पताल सल्लेमा ३ सय ४४ वटा त्यस्ता अप्रेसन हुँदा चौरजहारी अस्पतालमा ६ सय ३२ वटा अप्रेसन भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार एक वर्षमा जिल्लामा १ हजार ९ सय ५ वटा माइनर अर्थात् कम जटिल अप्रेसन भएका छन् । जिल्ला अस्पताल सल्लेमा त्यस्ता अप्रेसन १ सय ५६ वटा र चौरजहारी अस्पतालमा १ हजार ४ सय २६ वटा अप्रेसन भएका छन् । बाँकी ३ सय २३ वटा भने विभिन्न पालिका अस्पतालमा भएको सूचना अधिकारी ओलीले बताउनुभयो । 

जिल्ला अस्पतालमा जटिल खालको प्रसूति र हाड जोर्नीको मेजर अप्रेसन हुने गरेको छ भने घाउ चिर्ने, शरीरमा बिझेका काँडा लगायतका वस्तु निकाल्ने सहित अन्य विभिन्न प्रकारका माइनर अप्रेसन हुने गरेको छ । चौरजहारी अस्पतालमा भने जटिल प्रसूति, हाड जोर्नी, एपेन्डिसाइटिस जस्ता अन्य जटिल समस्याहरुको पनि अप्रेसन हुने गरेको बताइएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update