Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमबाट एक वर्षमा ११ सय बढी लाइसेन्स जारी, ३ करोड बढी राजस्व सङ्कलन  

यातायात व्यवस्था सेवा कार्यालय रुकुम पश्चिम चौरजहारीले एक वर्षमा ११ सय बढी नयाँ सवारी चालक अनुमति पत्र लाइसेन्स जारी गरेको छ । बितेको आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले ११ सय २६ वटा नयाँ लाइसेन्स जारी गरेको हो । 

त्यस्तै ३ सय ९३ वटा लाइसेन्स नवीकरण, वर्ग थप २ सय ८८ वटा र एउटा प्रतिलिपि जारी भएको छ । सबै गरेर लाइसेन्स सम्बन्धी १८ सय ८ वटा काम भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले जनाएको छ । 

त्यस्तै कार्यालयले ३ करोड तीन लाख, ६९ हजार ८ सय ५१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा बढी हो । उक्त वर्ष २ करोड ६२ लाख राजस्व सङ्कलन भएको थियो । 

लाइसेन्स जारी, नवीकरण, प्रतिलिपि, सवारी साधन दर्ता, अस्थायी तथा स्थायी रुट परमिट, सवारी जाँच पास लगायतबाट उक्त राजस्व सङ्कलन भएको कार्यालय प्रमुख मोहन केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार एक वर्षमा ६ सय ३२ वटा सवारी साधन दर्ता, ३ सय १९ वटा अस्थायी रुट परमिट, १ सय २३ वटा स्थायी रुट परमिट, ३ सय १५ वटा सवारी जाँच पास भएका छन् भने रुकुम पश्चिम र जाजरकोटमा ८ पटक सडक अनुगमन भएको छ । 

यसैबिच कार्यालयको वित्तीय प्रगति ९१ प्रतिशत रहेको छ । चालू तर्फ १ करोड २१ लाख बजेट रहेकामा ९० प्रतिशत र पुँजीगत खर्च १५ लाख रहेकामा ९९ प्रतिशत खर्च भएको प्रमुख केसीको भनाई छ । समग्रमा भने १ करोड ३६ लाख बजेट रहेकामा ९१ प्रतिशत वित्तीय प्रगति रहेको उहाँले बताउनुभयो । 

यो कार्यालयबाट रुकुम पश्चिम सहित सल्यान, जाजरकोट, रुकुम पूर्व र डोल्पासम्मका सेवाग्राहीहरूले सेवा लिने गरेका छन् । चौरजहारीमा २०७६ साल भदौ १२ गते यातायात कार्यालय स्थापना भए पनि त्यसको तीन वर्षपछि २०७९ फागुन २१ गतेदेखि सेवा प्रारम्भ भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update