Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमसहित तीन जिल्लामा विद्युत सेवा अवरुद्ध, २७ हजारबढी सेवाग्राही मर्कामा 
फाइल फाेटाे ।

रुकुम पश्चिम,  रुकुम पूर्व, सहित डोल्पामा आइतबार साँझ देखि विद्युत् सेवा अनियमित भएको छ । हावाहुरी सहित आएको वर्षा र चट्याङका कारण तीन जिल्लामा  केन्द्रीय प्रसारण लाइन अनियमित भएको हो । चट्याङले सल्यानको सिमाखोली र रुकुम, सल्यानको सिमाना खौलामा विद्युत्का पोलमा रहेका डिस्क इन्सुलेटर र पीन इन्सुलेटरमा क्षति गर्दा विद्युत् आपूर्तिमा समस्या भएको रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख विरमान रास्कोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार साँझदेखि  नै अवरुद्ध विद्युत् लाइनको समस्या पहिचान सुरु गरिए पनि आज बिहान मात्रै  समस्याको पहिचान भएको हो । मर्मतको लागि जिल्लाबाट प्राविधिक प्रेमप्रकाश चपाइको नेतृत्वमा १५ जनाको टोली खटिएको प्रमुख रास्कोटीले जानकारी दिनुभयो । 

विद्युत् लाइन अवरुद्ध हुँदा रुकुम पश्चिमका २३ हजार, रुकुम पूर्वका ३ हजार र डोल्पाका करिब १५  सय सेवाग्राही गरेर करिब साढे २७ हजार सेवाग्राही मर्कामा परेको कार्यालयले  जनाएको छ । 

मर्मतको लागि टोली खटिएको र साँझ सम्ममा विद्युत् सेवा सुचारु हुने प्रमुख रास्कोटीले जानकारी दिनुभयो । विद्युत् सेवा अवरुद्ध हुँदा विद्यार्थी, व्यवसायी लगायत सर्वसाधारण नागरिकलाई समस्या भएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update