
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले सडक मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । जसअन्तर्गत नगरपालिकाले मुसिकोट खलङ्गाको शुभय मल अगाडी डोजर चलाएको छ । राप्ती राजमार्ग मिचेर लगाइएका बिरुवा र वाल नगरपालिकाको डोजरले हटाएको छ । सडक मिचेर बनाइएका उक्त संरचना डोजर लगाएर हटाइएको नगर प्रहरी प्रमुख उमेश केसीले जानकारी दिनुभयो ।
सडक मिचेर बनाएका संरचनाको पहिचान यसअघि नै भएको र आजबाट उक्त संरचना हटाउन सुरु गरेको उहाँले बताउनुभयो । यसको सुरुवात आज बिहान खलङ्गाको सहिद गेटबाट भएको थियो । सुरक्षा दलबल सहित तयारीका साथ डोजर र टिप्पर लिएर पुगेको जनप्रतिनिधि र कर्मचारीको टोलीले सडकमा रहेका संरचना हटाउने प्रयास गरेका थियो ।
तर व्यवसायी आफैँले पसल खाली गर्ने आग्रह सहित हटाउन सुरु गरेपछि टोली अर्को ठाउँमा गएको थियो । आजबाट सुरु भएको यो अभियान पहिचान भएका सबै संरचना नहटाउँदासम्म जारी रहने नगरपालिको जनाएको छ । अब दैनिक निरन्तर रूपमा यो अभियान सञ्चालन हुने बताइएको छ । नगरपालिकाले यसअघि नै राप्ती राजमार्ग तथा अन्य सडकहरू मिचेर बनाइएका संरचनाहरूमा मार्किङ गरिसकेको छ ।
नगरले यसअघि पटक पटक यस्ता संरचना हटाउन सार्वजनिक सूचना जारी गरे पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन ।