
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ५ काँडाकी ६४ बर्सिया पवि खत्री लामो समय देखि बिरामी हुनुहुन्थ्यो । हात गोडा दुख्ने, झमझमाउने, खान मन नलाग्ने लगायतको स्वास्थ्य समस्याबाट ग्रसित पवि लामो समय देखि उपचार गराइरहनुभएको थियो । पछिल्लो पटक दाङ घोराहीमा उपचार गराएर घर फर्किएकी उहाँलाई केही दिन देखि स्वास्थ्य समस्याले पिरोलिरहेको थियो ।
स्वास्थ्य खराब बन्दै गएपछि छोरा ३६ वर्षीय ठगेन्द्र केसी र छोरी २७ बर्सिया निशा केसी तथा पविका देवरका छोरा २७ वर्षीय शशीधर केसी पविलाई लिएर चौरजहारी अस्पताल गएका थिए । अस्पतालले पहिला घोराहीमा उपचार गरेकोले उतै जान सुझायो । शनिवार नै उनीहरूले घोराही जाने सोच बनाए । आफ्नै गाउँलेको गाडी दाङ जाने खबर पाएपछि उनीहरू खलङ्गा फर्किए ।
बाँफिकोटको स्यार्पू दहबाट दाङसम्म चल्ने गाडी दाङ जाँदै छ भन्ने खबर पाएपछि आफ्नै गाउँलेको गाडीमा जाँदा सजिलो हुने विश्वासले उनीहरू खलङ्गा फर्किए । मुसिकोट नगरपालिका ५ को शेरिगाउँमा आएर उनीहरूले गाडी कुरे । शनिवार नै दाङबाट यात्रु लिएर बाँफिकोटको स्यार्पू पुगेको गाडी सोही दिन राति राति दाङ पुग्ने र आज आइतबार बिहान पुनः यात्रु लिएर फर्किने योजना सहित दाङ जाँदै थियो । पविको परिवारका चार जना शेरिगाउँबाट उक्त गाडीमा चढे र दाङ तर्फ लागे । उक्त गाडीमा थिए बाँफिकोट ४ काेटका २७ वर्षीय प्रकाश केसी ।
यो पनि पढ्नुहोस
अहिलेसम्मको जानकारी अनुसार गाडी स्टाफका रूपमा प्रकाश मात्र गाडीमा रहेको बुझिएको छ । सल्यान प्रहरीका अनुसार गाडी कसले चलाएको थियो भन्ने खुलिसकेको छैन । स्थानीयका अनुसार प्रकाश उक्त गाडीका स्टाफ हुन । तर चालक हुन वा होइन भन्ने खुलेको छैन । हालसम्मको जानकारी अनुसार ५ जना सवार उक्त गाडी सल्यानको कपुरकोट गाउँपालिका ३ को चोरखोला भन्ने ठाउँमा गएर मध्यरातमा दुर्घटना भयो । गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीको भनाई छ ।
उक्त घटनामा उपचारका लागि गइरहेकी पवि सहित उनका देवरका छोरा शशीधर र गाडी स्टाफ भनिएका प्रकाशको मृत्यु भएको छ । उनीहरूको घटना स्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो । पविका छोरा ठगेन्द्र र छोरी निशा गम्भीर घाइते भएका छन् । उनीहरूलाई घटना स्थलबाट उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । त्यहाँ सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर लगिएको छ । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त गाडी कसले चलाएको थियो भनेर अनुसन्धान गरिरहेको छ । हालसम्म गाडी चालक को थिए भन्ने बारेमा निश्चित भई नसकेको सल्यान प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस
उपचारका लागि भनेर गएकाहरू नै दुर्घटनामा परेपछि काँडा गाउँ दसैँको बेलामा शोकमा डुबेको छ । चाडपर्वको बेला गाउँघरमा छुट्टै रौनक हुने गर्छ । यस वर्षको दसैँ सुरु भइसकेको छ । दसैको रौनकमा रहेको काँडा गाउँ दुर्घटनाले शोकमा डुबेको छ । उपचारका लागि गइरहेकी पवि र उहाँलाई उपचारका लागि लैजाँदै गरेका उहाँका भतिज शशीधर सहित गाउँले प्रकाशको निधन तथा छोरा ठगेन्द्र र छोरी निशा गम्भीर घाइते भएपछि परिवारजन तथा गाउँ नै शोकमा परेको हो ।
चाडपर्वको बेला भएको दुर्घटनाले समग्र काँडा गाउँलाई शोकमा डुबाएको मृतक पविका भदै ध्रुवराज केसीले बताउनुभयो । दुर्घटनापछि गाउँमा कुनै रौनक बाँकी नरहेको र आफूहरू शोकमा डुबेको उहाँले बताउनुभयो ।