Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा २० गतेसम्म सम्पर्कमा नआए कैदीबन्दीलाई कारबाही हुने, अझै २४ कैदी फरार 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले फरार कैदीबन्दीहरुलाई सम्पर्कमा आउन असोज २० गतेसम्मको समय दिएको छ । जेन जी आन्दोलनको फाइदा उठाएर जिल्ला कारागार रुकुम पश्चिमबाट ८८ जना कैदीबन्दी फरार भएका थिए । जसमध्ये ६४ कैदीबन्दी पक्राउ परिसकेका छन् । २४ जना कैदीबन्दी अझै फरार रहेका छन् । 

जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले यस अघि पनि समय दिएर कैदीबन्दीलाई आफै सम्पर्कमा आउन अपिल गरेका थिए । तर कोही कैदीबन्दी सम्पर्कमा नआएपछि प्रशासनले अन्तिम पटकका लागि भन्दै २० गतेकाे समय दिएको छ । उक्त समयमा पनि सम्पर्कमा नआए कानुन बमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो । 

भदौ २३ र २४ गते देशका विभिन्न ठाउँमा भएको जेनजी आन्दोलनको क्रममा कारागार कार्यालय, रुकुम (पश्चिम भाग) बाट फरार रहेका कैदी बन्दीहरूलाई कारागारमा फर्काउने तथा परिस्थितिलाई सहज बनाउने क्रम जारी छ, अझै पनि २४ जना कैदी बन्दीहरू कारागारबाट भागी फरार रहेकोले फरार भएका कैदीबन्दीहरूलाई असोज २० गते सोमबारसम्म कारागार कार्यालयमा फर्किन भन्दै प्रशासनले सूचना जारी गरेको छ । 

यस कार्यमा समन्वय गर्न जिल्लाभित्रका सबै सुरक्षा इकाईहरू, सबै स्थानीय तहहरू, सञ्चार माध्यम, सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई प्रशासनले अनुरोध समेत गरेको छ । तोकिएको समयभित्र कारागारबाट भागी फरार भएका कैदीबन्दीहरू कारागारमा फर्की नआए कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी ओलीले जारी गरेको सूचनामा उल्लेख छ । 

यसै गरी यो सूचनालाई अवज्ञा गरी फरार कैदी बन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत सूचित गरिन्छ, सूचनामा भनिएको छ । यो सूचना असोज १२ गते नै जारी भएको हो । यो सूचना जारी भएदेखि हालसम्म कोही पनि फरार कैदीबन्दी सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार ६४ जना कैदीबन्दी कारागार फर्काइएकामा २४ जना अझै फरार रहेकोमा पछिल्लो सूचना जारी भएकापछि एक जना कैदीबन्दी पनि सम्पर्कमा आएका छैनन् भने पक्राउ पनि परेका छैनन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update