Kakhara सबैको खबर सम्पूर्ण खबर
मग्मामा विविध खेलकुद प्रतियोगिता हुने  

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ को सिमाना बरापाटामा हरेक वर्ष लाग्दै आएको सहिद स्मृति मेला यो वर्ष पनि लाग्ने भएको छ । विजया दशमी तथा शुभ दीपावलीको अवसरमा असोज २१ देखि २४ गतेसम्म मेला लाग्ने भएको हो ।

मेलाको अवसरमा मग्माली मयूर नाच समूहले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको  छ । खुला शुद्ध वडा स्तरीय पुरुष भलिबल तथा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएका छन् ।

भलिबल प्रतियोगिताको विजेताले नगद एक लाख पाँच हजार पाँच सय ५५ तथा उपविजेताले नगद ७० हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । 

यस्तै सेमिफाइनल पुगेका दुई टिमले समान २५ हजार पाँच सय ५५ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने मेला व्यवस्थापन समितिका संयोजक खिम खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरुष ब्याडमिन्टन प्रतियोगिता तर्फ विजेता भएको जोडीले नगद १५ हजार उपविजेता नगद दश हजार रुपैयाँको साथमा कप मेडल प्रमाण पत्र पाउँदा सेमिफाइनल पुगेका दुई जोडीले समान तीन हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने भएका छन् । 

यस्तै मेलामा लोक दोहोरी, भाले तान्ने, घैँटो फोर तथा छेलो प्रतियोगिताको आयोजना गरिएको छ । लोक दोहोरी प्रतियोगितामा प्रथम हुने समूहले नगद पाँच हजार दोस्रो समूहले नगद चार हजार तथा सान्त्वना हुने दुई समूहले  समान दुई/दुई हजार रुपैयाँको साथमा मेडल प्रमाण पत्रको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

छेलो प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोले नगद दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने भएका छन् । घैँटो फोर विजेताले नगद दुई हजार रुपैयाँ पाउने छ भने भाले तान्ने प्रतियोगितामा दुई हजार बराबरको रातो भाले पुरस्कार व्यवस्था गरिएको छ । 

यस्तै मेलामा झाकी सहित सहभागिता हुने पञ्चेबाजा तथा मयूर नाचलाई समान पाँच हजार र सिँगारु नाच समूहलाई नगद तीन हजार रुपैयाँको पनि व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update