
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठान त्रिवेणी गाउँपालिकाले ११७औँ लक्ष्मी जयन्तीको अवसरमा खुला कविता प्रतियोगिता आयोजना गरेको हो । जसमा प्रेमा शेर्पालीले पहिलो स्थान हासिल गर्दै ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
त्यस्तै किस्मत सिर्पाली दोस्रो भई २ हजार ५ रुपैयाँ, विनोद शेर्पाली तेस्रो भई २ हजार रुपैयाँ र देवीका खड्का तथा होमराज खड्काले सान्त्वना पुरस्कार स्वरूप १ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
विजेताहरूलाई प्रमुख अतिथि त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक रणबहादुर पुन, विशेष अतिथिहरु ३ नम्बर वडा अध्यक्ष दीपेन्द्रकुमार ओली, राप्ती साहित्य परिषद् रुकुम पश्चिमका सल्लाहकार मुकुन्दप्रसाद शर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पुनले प्रतियोगितामा सहभागी युवाहरूको साहित्यिक प्रतिभाको प्रशंसा गर्दै उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो । उहाँले यस्ता साहित्यिक कार्यक्रमहरूले सृजनशील सोच र आत्मविश्वास विकासमा ठुलो भूमिका खेल्ने समेत बताउनुभयो ।
त्यस्तै, विशिष्ट अतिथि मुकुन्दप्रसाद शर्माले भाषा, कला, साहित्य र संस्कृतिको जगेर्नाका लागि यस्ता प्रतियोगिताहरू अत्यन्त उपयोगी हुने बताउँदै निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्रकुमार ओलीले पनि विजेताहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रज्ञा प्रतिष्ठान त्रिवेणीका उपकुलपति मनलाल ओलीको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का सदस्य कुबेर ओलीको स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य सचिव नवराज खड्काले गर्नुभएको थियो ।
प्रतिष्ठानले प्रतियोगीहरूलाई प्रतियोगिता स्थलमै कविता रचना गर्ने व्यवस्था मिलाएको थियो । जुन रुकुम पश्चिममा सम्भवतः पहिलो अभ्यासका रूपमा रहेको बताइएको छ । कार्यक्रममा राप्ती साहित्य परिषद् रुकुम पश्चिमका सल्लाहकार हरिप्रसाद खनाल, जिल्ला कोषाध्यक्ष शशीराम घर्ती, साहित्यिक अग्रजहरू, पत्रकार तथा साहित्य प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।।