Kakhara सबैको खबर सम्पूर्ण खबर
साहित्यकार ओलीलाई योगेश्वर वाङमय पुरस्कार प्रदान

साहित्यकार पूर्ण ओलीलाई योगेश्वर वाङ्मय पुरस्कार प्रदान गरिएको छ । आज सोलुखुम्बुको सल्लेरीमा आयोजित कार्यक्रम मार्फत नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले २०८२ सालका लागि प्रदान गरिने योगेश्वर वाङ्मय पुरस्कारबाट साहित्यकार ओलीलाई पुरस्कृत गरेको हो । 

प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने २५ हजार पुरस्कार राशिको पुरस्कार यस वर्ष रुकुम पश्चिमका साहित्यकार ओलीलाई प्रदान गरिएको हो । योगेश्वर वाङ्मय पुरस्कार नेपाली कलासाहित्य प्रतिष्ठानका लागि योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीले स्रष्टा एवम् समाजसेवी पिता योगेश्वर कार्कीका नाममा स्थापित पुरस्कार हो । 

प्रतिष्ठानका उपाध्यक्ष तथा पुरस्कार संस्थापक राजेश्वर कार्कीको अध्यक्षतामा यस अघि नै बसेको चयन समितिको बैठकले ओलीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । साहित्यलाई आत्मसात् गर्दै समाजसेवीका रूपमा आफूलाई समर्पित गर्दै आएका ओलीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कृत हुन पाउँदा आफू अत्यन्त गौरवान्वित र भावुक बनेको साहित्यकार ओलीले बताउनुभएको छ । यसरी सम्मानित हुन पाउनु आफ्नो लागि केवल उपलब्धि मात्र नभई, यो आफ्नो समग्र जीवनयात्राको एउटा महत्त्वपूर्ण मोड रहेको पनि उहाँले बताउनुभयो । 

सोलुखुम्बुकै स्रष्टा मनुहाङ राईले ग्रेगरी कलासंस्कृति पुरस्कार प्राप्त गर्नुभयो । 

जाजरकोटको माटोमा जन्मिएर गीत, कविता, नाटक र यात्रासंस्मरणजस्ता विविध विधामा कलम चलाउने योगेश्वर कार्की एक बहुमुखी प्रतिभाका धनी स्रष्टा हुनुहुन्थ्यो । उहाँको सम्झनामा योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीले यो पुरस्कार स्थापना गर्नुभएको हो ।

 

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update