रुकुमकोटमा चौथो साहित्यिक महफिल हुने

रुकुम पूर्वमा चौथो साहित्यिक महफिल हुने भएको छ। भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले चौथो साहित्यिक महफिल–२०८३ आयोजना गरिएको हो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजनामा कार्तिक २८ गते सिस्ने गाउँपालिका–६ छिप्रीदह स्थित विन्ध्यवासिनी भगवती मन्दिर परिसरमा चौथो साहित्यिक महफिल गर्न लागिएको छ।

बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा राष्ट्रियस्तरमा स्थापित साहित्यकार, गजलकार, कवि तथा स्थानीय कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा गजल, कविता, गीत तथा सङ्गीत, गायन, नृत्यको साथमा विविध सांस्कृतिक प्रस्तुतिहरू रहने छन् । चर्चित गजलकारहरू कैलाली जिल्लाबाट दीर्घराज प्रियसी, सुर्खेत जिल्लाबाट धिरेन अनुपम र अछाम जिल्लाबाट  कृष्ण विरहीको प्रस्तुति रहने छ । त्यस्तै कविता विधामा रुकुम पश्चिमबाट समष्टि बुढा मगर, रुकुम पुर्व बाट भुवनेश्वर उपाध्याय र मोहनबहादुर केसी, तिलक रोका लगायत स्थानीय कलाकारहरूको गायन, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम रहेकाे छ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वकी अध्यक्ष जमुना गौतम पुनले साहित्यिक महफिल एउटा औपचारिक कार्यक्रम मात्र नभई जिल्लाको भाषा, साहित्य, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा अभियान भएको बताउनुभएको छ। अध्यक्ष गौतम पुनका अनुसार साहित्यप्रतिको अगाध माया, लगाव र समर्पणका कारण विभिन्न चुनौतीका बाबजुद परिषद्ले निरन्तर साहित्यिक गतिविधि ञ्चालन गर्दै आएको छ ।  जिल्लामा साहित्यिक कार्यक्रम सञ्चालन गर्न स्रोतसाधन र आर्थिक चुनौती रहे पनि परिषद्का पदाधिकारी, सल्लाहकार तथा साहित्य प्रेमीहरूको सामूहिक प्रयासले कार्यक्रमलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो । स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा स्थानीय सरकारको विशेष चासो, साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष गौतम पुनले राज्यका निकायहरू यस अभियानप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । लुकेर रहेका स्थानीय प्रतिभालाई उचित स्थान दिनु, नवोदित स्रष्टालाई प्रोत्साहन गर्नु र अग्रज स्रष्टाको अनुभव तथा सिर्जनालाई नयाँ पुस्तासम्म पुर्‍याउनु महफिलको मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ।

महफिल मार्फत स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई उजागर गर्दै लोपोन्मुख सांस्कृतिक परम्पराको संरक्षणमा समेत योगदान पुर्‍याउने लक्ष्य राखिएको छ । भाषा, साहित्य, कला र संस्कृति जीवन र जगतको समृद्धि  भन्ने मूल नारासहित आयोजना हुन लागेको चौथो साहित्यिक महफिलले रुकुम पूर्वको साहित्यिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update