Kakhara सबैको खबर सम्पूर्ण खबर
सोलुखुम्बुको सल्लेरीमा ‘सिर्जना उत्सव’ सम्पन्न, विभिन्न स्रष्टा सम्मानित

“मेरो राष्ट्र मेरो ध्येय” मूल नारासहित नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको आयोजनामा सोलुखुम्बुको सल्लेरीस्थित द हिमालयन याक होटेलको सभाकक्षमा विशेष सिर्जना उत्सव कार्यक्रम सम्पन्न भएको छ । सोलु सल्लेरीको स्थानीय आबद्ध सहयोगी संस्था नवयुग साहित्य, कला सेवा समाजले कार्यक्रममा सहकार्य गरेको थियो ।

उद्घोषण स्रष्टा मणि लोहनीले सञ्चालन एवम् सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा कवि निबन्धकार मोमिलाको अध्यक्षता तथा सडकनाटकका प्रणेता एवम् अग्रज कवि अशेष मल्लको प्रमुख आतिथ्यता रहेको थियो । साथै प्रमुख संरक्षक डा. बिमल कोइराला, व्यङ्ग्य कवि लक्ष्मण गाम्नागे, समालोचक महेश पौड्याल,  सोलुखुम्बुका जिल्ला समन्वय अधिकारी चन्द्रसिँह श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

उत्सवमा योगेश्वर वाङ्मय पुरस्कार २०८२ रुकुम पश्चिमका स्रष्टा पूर्ण ओलीलाई तथा ग्रेगरी कलासंस्कृति पुरस्कार २०८२ सोलुखुम्बुका स्रष्टा मनुहाङ किराँती सोलु (युमन खालिङ)लाई प्रदान गरिएको थियो । प्रमुख अतिथि अशेष मल्ल तथा प्रमुख संरक्षक डा. बिमल कोइरालाले टीका, माला, दोसल्ला, थैली र ताम्रपत्र हस्तान्तरण गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष राजेश्वर कार्की र कोषाध्यक्ष सुन्दर बस्नेतले विशेष खादा समर्पण गर्नुभएको थियो ।

कार्यक्रममा महेश पौड्यालले कि–नोट (समीक्षात्मक प्रस्तुति) तथा पुरस्कृत हुने स्रष्टाहरूको परिचय दिनुभएको थियो भने केशवदेव गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो । साथै २५ जना कविहरूले कविताहरूले कार्यक्रमलाई मन्त्रमुग्ध तुल्याउनुभएको थियो । अतिथि कवि डा. कृष्णराज डिसीले मन्दाक्रान्ता छन्दमा सोलुखुम्बुको सौन्दर्यको बारेमा र शार्दूलविक्रडीत छन्दमा शोक कविता प्रस्तुत गर्नुभएको थियो । 

यसै गरी लक्ष्मण गाम्नागेले सोलुखुम्बुलाई व्यङ्ग्यात्मक रूपमा काठमाडौँसँग तुलना गरी पाठकहरूलाई हसाउँदा हसाउँदै आमा कविता सुनाएर धुरुधुरु रुवाउनुभएको थियो । यसैगरी अतिथि कविहरूमध्येबाटै राजेश्वर कार्की, तुलसीहरि कोइराला, मणि लोहनी, अनीता कोइराला, लक्ष्मी रुम्बा, वीरेन्द्र ग्यावा तामाङ, तारा सुनुवार, जयदेव भट्टराई, मुकुन्द प्रयास, सुवास सजलले कविताहरू प्रस्तुत गर्नुभएको थियो ।

स्थानीय कविहरूमा सुष्मा बस्नेत, सुवास सङ्गम राई, मेरुदण्ड राई, केशव कुलुङ, रामकुमार राई, गङ्गा राई, तिब्बत राई, महेन्द्रदीप राई, शम्भु निःशब्द, मनुहाङ किराँती सोलु,  लगायतले स्थानीय रङका जोडदार कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अशेष मल्लले स्थानीय उत्पादन मात्र नभई स्थानीय कला र संस्कृतिलाई आफ्नै प्रयासमा उन्नयन गर्नसके स्वीजरल्याण्डभन्दा सोलुखुम्बु सुन्दर तुल्याउन सकिने बताउनुभएको थियो । प्रमुख संरक्षक डा. बिमल कोइरालाले आफ्नो मन्तव्यको क्रममा समाज विकासको लागि अत्यावश्यक खम्बा कलासाहित्यलाई राज्य र स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको थियो ।  

पुरस्कृत स्रष्टाका तर्फबाट पूर्ण ओलीले मन्तव्य व्यक्त गर्नुभएको थियो । स्थानीय साहित्यकार उत्रकुमार राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

अन्त्यमा अध्यक्ष मोमिलाले कार्यक्रमको औचित्यको बारेमा प्रकाश पार्दै कार्यक्रम गर्दा उत्पन्न हुने बाधा चुनौतीहरूको सामना गर्दै यो कलासाहित्य यात्राले समाजमा सद्भाव र सिर्जनाको माध्यबाट राष्ट्रलाई महत्त्वपूर्ण योगदान दिइरहेको बताउनुभएको थियो ।

कार्यक्रमका स्थानीय संयोजकहरूमा केशवदेव गिरी, भाइराजा बुढाथोकी र उत्रकुमार राई हनुहुनुहुन्थ्यो ।

ललितपुरमा २०६३ सालमा स्थापना भएको नेपाली कलासाहित्य डट कम प्रतिष्ठान “सद्भाव र सिर्जना” मूल मन्त्रसहित कला, साहित्य, संस्कृति, दर्शन र इतिहासको उत्थानमा सक्रिय संस्था हो । यसले अध्ययन–अनुसन्धान, अनलाइन वेब पत्रिका प्रकाशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, गोष्ठी र भ्रमणमार्फत नेपाली सिर्जनालाई विश्वसामु पु¥याउने लक्ष्य राखेको छ ।

प्रतिष्ठानले पुरस्कार स्थापना, पुस्तक प्रकाशन, विद्वत वृत्ति, साहित्यकार उपचार कोष, सांस्कृतिक वृत्तचित्र निर्माण तथा स्रष्टा सम्मानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । साथै, कला र साहित्यका माध्यमबाट सद्भावपूर्ण समाज निर्माण र सांस्कृतिक सम्वद्र्धनमा निरन्तर क्रियाशील छ ।

यस संस्थाका प्रमुख संरक्षकमा डा. बिमल प्रसाद कोइराला रहनुभएको छ भने विशिष्ट संरक्षक उमेश श्रेष्ठ, संरक्षकहरूमा द्वारिका श्रेष्ठ, जलेश्वरी श्रेष्ठ र उषा शेरचन हुनुहुन्छ । यस प्रतिष्ठानको अध्यक्ष मोमिला जोशी, उपाध्यक्ष राजेश्वर कार्की, महासचिव अरूणा वैद्य, कोषाध्यक्ष सुन्दर बस्नेत तथा सदस्यहरूमा सुरेन्द्र श्रेष्ठ, अनन्त वाग्ले, कुमार नगरकोटी, युवराज अर्याल, महेश पौड्याल रहनुभएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update