Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा माओवादी रुकुम पश्चिमको प्रतिबद्धता कम्तीमा एक घर एक रोजगारी 
प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रम ।

नेकपा माओवादी रुकुम पश्चिमले पनि फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आज जिल्ला सदरमुकाम मुसिकोट ५ शेरिगाउँमा एक कार्यक्रमका बिच नेकपा माओवादीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार चन्द्र बुढाले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभयो । 

रुकुमको विकास र जनताको अधिकारलाई मुख्य केन्द्रमा राखेर नेकपा माओवादीले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । उसले आश्वासन नभई गर्न सकिने काम मात्र प्रतिबद्धता पत्रमा राखेको जनाएको छ । उसले ग्रामीण अर्थतन्त्रमा क्रान्तिलाई प्रमुखता दिएको छ । जसमा पहिलो प्राथमिकतामा कृषिलाई राखिएको छ । 

कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरी बजारीकरण सँगै उत्पादनमा आधारित अनुदानको व्यवस्था, कृषि भण्डार केन्द्रको स्थापना, कृषि बजार एम्बुलेन्सको व्यवस्था, उत्पादनका आधारमा पकेट क्षेत्र घोषणा, पर्यटन क्षेत्रको विकास अन्तर्गत पूर्वाधारमा जोड, युद्ध पर्यटन प्रवर्द्धन, जिल्लाका प्रमुख पर्यटकीय स्थानको प्रवर्द्धन गरी पर्यटन उद्योगको विकास गर्ने माओवादीको प्रतिबद्धता पत्रमा उल्लेख छ । 

जनताको लगानीमा सानीभेरी, ठुली भेरी, जलिगार र स्यार्पू ताल लगायतका ठाउँमा जलविद्युत उत्पादन गरी जनताको आय स्तरमा वृद्धि गर्ने, बहुमूल्य जडीबुटी, वनस्पतिको व्यावसायिक खेती प्रवर्द्धन र संरक्षणको नीति लिने, साना उद्योग र व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्ने, शिक्षा तर्फ निजी विद्यालय र सामुदायिक विद्यालयको पाठ्यक्रम समान बनाउन पहल गर्ने, शिक्षामा देखिएको असमानतालाई तोड्ने, विद्यालयमा आइसिटी सेन्टर स्थापना गर्ने, व्यवहारिक शिक्षामा जोड दिने प्रतिबद्धता उम्मेदवार बुढाले व्यक्त गर्नुभयो । 

त्यस्तै स्वास्थ्य तर्फ जिल्ला अस्पताललाई विशेषज्ञ सेवा सहित अत्याधुनिक बनाउने, पालिकामा रहेका अस्पताल र चौरजहारी अस्पताललाई व्यवस्थित गरी विशेषज्ञ सेवा दिने, टेलिमेडिसिन सेवा उपलब्ध गराउने, रोजगारी तर्फ कम्तीमा एक घर एक रोजगारी कार्यक्रम लागु गर्ने, सीप विकास तालिम सञ्चालन गर्ने, सुशासनका क्षेत्रमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने, अनलाइन सेवा प्रवाहमा जोड दिने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ । 

नेकपा माओवादीले युवा तथा खेलकुद, सडक र पूर्वाधार, सामाजिक क्षेत्र, कला, साहित्य र संस्कृतिको विकास, पर्यावरण, दिगो विकासको अवधारणामा आधारित स्मार्ट ग्रामीण गाउँ र ग्रामीण सहरको विकास गर्ने तथा यातायात र सूचना सञ्चारलाई पनि प्राथमिकतामा राखेर प्रतिबद्धता पत्र तयार पारेको छ । 

नेकपा माओवादीका केन्द्रीय सदस्य हरि पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रत्यक्ष तर्फका उम्मेदवार चन्द्र बुढा, समानुपातिक उम्मेदवार जुनबहादुर बोहरा छलाङ, जिल्ला सदस्य तुलसा पौडेलको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी महेश बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update