Kakhara सबैको खबर सम्पूर्ण खबर
पूर्व जिल्ला पञ्चायत उपसभापति खड्का सहित २१ जना राप्रपामा प्रवेश  

नेपाली काँग्रेस रुकुम पश्चिमका क्षेत्रीय प्रतिनिधि तथा रुकुमका भूतपूर्व जिल्ला पञ्चायत उपसभापति डिल्लीरमण खड्का राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । राप्रपा रुकुम पश्चिमको पार्टी कार्यालय मुसिकोटमा एक कार्यक्रमका बिच खड्का सहित २१ जना राप्रपामा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस सहित विभिन्न पार्टीबाट २१ जनाले राप्रपामा प्रवेश गरेको राप्रपाका रुकुम पश्चिम प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोपाल खड्काले जानकारी दिनुभयो । नव प्रवेशीहरुलाई राप्रपाका केन्द्रीय सदस्य दीपककुमार मल्लले स्वागत गर्नुभयो ।

राष्ट्रवादी शक्तिहरू एक हुनुपर्ने अवस्था आएको र नेपाली काँग्रेस विधि र सिद्धान्तमा नचलेको तथा राष्ट्रियताको मामिलामा कमजोर बनेपछि राप्रपामा प्रवेश गरेको खड्काले बताउनुभयो ।

यसैबिच राप्रपा रुकुम पश्चिमले फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरेर चुनावी प्रचारलाई तीव्रता दिएको छ । उसले जिल्लाभरमा चुनावी प्रचार भइरहेको जनाएको छ । उम्मेदवार सहितको टोली जिल्लाका विभिन्न ठाउँमा पुगेर मत मागिरहेको राप्रपाले जनाएको छ ।

जिल्लाका सबै पालिकामा पुगिसकेको र अहिले पनि घरदैलोमै रहेको उम्मेदवार खड्काले जानकारी गराउनुभयो । टोल तथा घरघरमै पुगेर चुनावी प्रचार गरिरहेको उहाँले बताउनुभयो । निर्वाचन प्रचारका क्रममा जनतामा राम्रो माहौल पाएको उहाँको भनाई छ । यस पटकको निर्वाचनमा रुकुम पश्चिममा राप्रपा राम्रो अवस्थामा रहेको पाएको उहाँले बताउनुभयो ।।   

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update